
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा आगामी अगस्ट २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलनको तयारी, सञ्चार क्षेत्रको विकास, सामुदायिक रेडियोको भूमिका तथा सञ्चारसम्बन्धी कानुनी सुधारका विषयमा छलफल भएको हो।
भेटका क्रममा नेपालमा हुने सम्मेलनले एसिया–प्रशान्त क्षेत्रका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चार विज्ञ तथा प्रसारक संस्थाका प्रतिनिधिलाई एकै मञ्चमा ल्याई प्रसारण क्षेत्रको नीति, प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सञ्चार, जलवायु परिवर्तन, मानव अधिकार तथा सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो।
सञ्चारमन्त्री तिमिल्सिनाले सम्मेलन सफल बनाउन सरकार आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको बताए। उनले सम्मेलनबाट प्राप्त अनुभव र सुझावले सरकारले अघि बढाइरहेको सञ्चार कानुन निर्माण तथा संशोधन प्रक्रियालाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत ज्ञानप्रगासमले दक्षिण एसियामा सामुदायिक रेडियोको प्रभावकारी भूमिका रहेको उल्लेख गर्दै नेपालको सामुदायिक रेडियो अभियानको प्रशंसा गरिन्। उनले विपद्का बेला विश्वसनीय सूचना प्रवाह तथा जनचेतना अभिवृद्धिमा विद्युतीय सञ्चार माध्यमको भूमिका अझै महत्त्वपूर्ण रहेको बताइन्।
भेटमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का अध्यक्ष अर्जुन गिरीसहितका पदाधिकारीले सामुदायिक रेडियोलाई कानुनी तथा नीतिगत रूपमा थप सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
