Nepal Purbadhar

पहिरो, बाढी र वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध, बिपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक

फाइल तस्बीर।


काठमाडौं। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बुधबार बिहान ८:४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा लगातारको वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि बन्द भएको छ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले सडक कटान गरेकाले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका-३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि उक्त सडक पनि बन्द भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका-१ अन्तर्गत घोराही-थवाङ शहीद राजमार्गमा बुधबार बिहान सुक्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

त्यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ स्थित बेँसीसहर-च्यामे-मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।


Read Previous

नेपालको हरित ऊर्जामा जापानको चासो, नलगाडदेखि प्रसारणलाइनसम्म सहकार्य विस्तारको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar