Nepal Purbadhar

नेपालको हरित ऊर्जामा जापानको चासो, नलगाडदेखि प्रसारणलाइनसम्म सहकार्य विस्तारको प्रस्ताव


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका आकिहिको बीच मंगलबार ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री श्रेष्ठले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा जाइकाले गर्दै आएको सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै कनकाइ सिँचाइ आयोजना र चन्द्र नहर परियोजनालगायतका पूर्वाधार विकासमा जाइकाको योगदानको प्रशंसा गरे। उनले आगामी दिनमा पनि नेपाल–जापानबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले हालै सम्पन्न नागढुंगा सुरुङमार्ग निर्माणमा जाइकाले दिएको सहयोगको पनि उच्च मूल्यांकन गरे। सुरुङमार्ग उद्घाटनका अवसरमा नेपाल आएका जाइका अध्यक्ष आकिहिकोसँग उनले आपसी हितका विषयमा थप सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।

छलफलका क्रममा मन्त्री श्रेष्ठले नेपालको स्वच्छ, हरित तथा भरपर्दो ऊर्जालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न जाइकाको सहयोग आवश्यक रहेको बताए। उनले नदी जलाधार क्षेत्रको गुरुयोजना निर्माण भइरहेको जानकारी दिँदै ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा अन्तर्राष्ट्रिय साझेदारीको महत्व औंल्याए।

जाइका अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत आयोजना को कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। त्यसको जवाफमा मन्त्री श्रेष्ठले आयोजना अघि बढाउन आवश्यक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षको बजेटमा प्रसारणलाइन विस्तारलाई उच्च प्राथमिकता दिइएको जानकारी दिँदै त्यसका लागि राष्ट्रिय मास्टर प्लान तयार भइरहेको बताए। वितरण प्रणाली सुदृढीकरण तथा वैकल्पिक ऊर्जाको विकासलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

उनले जापानी उच्च प्रविधिबाट निर्माण गरिएको कुलेखानी जलविद्युत आयोजना को प्रशंसा गर्दै आगामी नलगाड जलविद्युत आयोजना मा पनि जापानको सहकार्य अपेक्षित रहेको बताए। साथै, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा जाइकाले पुर्‍याएको सहयोगको स्मरण गर्दै उनले धन्यवाद व्यक्त गरे।

जाइका अध्यक्ष आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य, नयाँ परियोजनामा लगानी तथा आधुनिक पूर्वाधार निर्माणका लागि जापान इच्छुक रहेको बताए। नेपालमा नवीन प्रविधि, अनुभव र लगानीमार्फत पूर्वाधार विकासमा सहकार्य विस्तार गर्न जाइकाको तयारी रहेको उनको भनाइ थियो।


Read Previous

दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेक सबै सेवा ठप्प

Read Next

पहिरो, बाढी र वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध, बिपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar