
बागमती नदीमा मिसिने ढल घटाउने लक्ष्य, उपत्यकामा थप पाँच ढल प्रशोधन केन्द्र निर्माणाधीन
काठमाडौं। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा आएको छ। आयोजनाको परीक्षण सफल भएपछि काठमाडौं उपत्यकाको ढल व्यवस्थापन थप प्रभावकारी हुने र बागमती नदीमा मिसिने प्रदूषित ढल उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको यो ढल प्रशोधन केन्द्रले दैनिक ३ करोड ७२ लाख लिटर ढल प्रशोधन गर्न सक्ने क्षमता राख्छ।
पिआइडीका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सिजिसिओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा ठूलो सुधार आउनेछ। उनका अनुसार प्रशोधनपछि बागमती नदीमा फोहोर ढल सिधै मिसिने क्रम घट्ने, नदीको प्रदूषण कम हुने र वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्नेछ।
बागमती नदीका दुवै किनारामा मुख्य ढल संकलन पाइप बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो। यसले उपत्यकाका विभिन्न स्थानबाट सङ्कलित ढललाई प्रशोधन केन्द्रसम्म पुर्याउने व्यवस्था मिलाएको छ।
धोबीघाटमै दैनिक ३ करोड ७२ लाख लिटर क्षमता भएको अर्को ढल प्रशोधन केन्द्र पनि निर्माण भइरहेको पिआइडीले जनाएको छ। यसबाहेक कोडकुमा दैनिक १ करोड ४२ लाख लिटर, सल्लाघारीमा १ करोड ७० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र गोकर्णमा ३० लाख लिटर क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणाधीन छन्।
ललितपुरको धोबीघाटमा दैनिक ३ करोड ७२ लाख लिटर क्षमता भएको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा आएको छ। यसले बागमती नदीको प्रदूषण घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
निर्देशनालयका अनुसार पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुने गर्छ। हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक करिब २० करोड लिटर खानेपानी वितरण गरिरहेकाले आगामी वर्षहरूमा थप ढल प्रशोधन केन्द्र आवश्यक पर्ने देखिएको प्रमुख श्रेष्ठले बताए।
उनले नदी किनारका सुकुम्बासी बस्ती हटाइएका क्षेत्रमा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन सम्बन्धित मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए। साथै, काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली स्थापना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको बताए।
धोबीघाटमा सञ्चालनमा आएको यो परियोजनालाई काठमाडौं उपत्यकाको ढल व्यवस्थापन, बागमती नदी सरसफाइ र सहरी वातावरण संरक्षण अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
