Nepal Purbadhar

निर्धारित समयअघि नै रिखुवा खोलामा ३० करोडको पक्की पुल सम्पन्न, आवतजावत सहज


फिक्कल। इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई जोड्ने महत्त्वपूर्ण सडक आत्मानन्द मार्ग अन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा निर्माणाधीन पक्की पुल निर्धारित समयअघि नै सम्पन्न भएको छ।

सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानका अनुसार पुल निर्माणमा ३० करोड ६४ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ। प्रारम्भिक रूपमा ३३ करोड ९८ लाख २२ हजार ५८९ रुपैयाँ मा ठेक्का आह्वान गरिएको भए पनि शान्ति निर्माण सेवाले ३० करोड ६४ लाख ८४ हजार रुपैयाँ मा निर्माणको जिम्मा लिएको थियो।

आयोजनाका अनुसार २०७९ पुस ३० गते भएको सम्झौताअनुसार पुल २०८३ असार ३० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरी पुल सञ्चालनमा ल्याएको हो।

देशका धेरै पूर्वाधार आयोजनामा पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुने गुनासो भइरहेका बेला रिखुवा खोलाको पुल भने समयअघि नै सम्पन्न हुनु सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

निर्माण सम्पन्न भएको पुल २०० मिटर लामो र ११ मिटर चौडा छ। पुल सञ्चालनमा आएपछि माई नगरपालिका र माङसेबुङ गाउँपालिकाबीचको आवतजावत थप सहज, सुरक्षित र भरपर्दो बनेको छ।

यसअघि रिखुवा खोलामा पक्की पुल नहुँदा वर्षायाममा बाढी आएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या थियो। नयाँ पुल निर्माणसँगै स्थानीयवासीले वर्षभरि नै सुरक्षित रूपमा यात्रा गर्न सक्ने छन्।


Read Previous

चट्याङले क्षति पुर्‍याउँदा लुलाङमा १० दिनदेखि विद्युत् अवरुद्ध, ४०० घरधुरी प्रभावित

Read Next

धोबीघाटमा अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण, दैनिक ३ करोड ७२ लाख लिटर ढल प्रशोधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar