Nepal Purbadhar

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क पूर्ण रूपमा सुचारु


काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका सबै मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित क्षेत्रमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ।

भदौ १० गते आएको बाढीका कारण यी जिल्लामा नेपाल टेलिकमका टावरमार्फत सञ्चालन हुँदै आएका मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएका थिए। त्यसपछि कम्पनीका प्राविधिकहरू प्रभावित क्षेत्रमा तथा विपद् प्रतिकार्य कक्षमार्फत निरन्तर खटिएर सेवा पुनः सञ्चालनमा ल्याएका हुन्।

सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर तथा इन्धन पुर्‍याएर साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

भदौ १४ गते नेपाल–चीन सीमाना नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य भइरहेका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो।

१२० मध्ये ८३ साइटमा सेवा अवरुद्ध

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १२० ओटा साइटमध्ये ८३ ओटा साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएका थिए।

त्यसमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ का तीन ओटा साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु भएसँगै सबै साइट सञ्चालनमा आएका हुन्।

पूर्ण रूपमा क्षतिग्रस्त साइटबाट उपलब्ध हुने सेवा हाल अन्य साइटमार्फत प्रदान भइरहेको टेलिकमले जनाएको छ। मोबाइल सेवाको प्रभावकारिता थप बढाउन क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखेर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइनेछ।

हेलिकप्टरबाट उपकरण पुर्‍याएर सेवा सुचारु

बाढी आएको जानकारी पाएलगत्तै भदौ ११ गते रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत उपकरण पुर्‍याएर सेवा सुचारु गरिएको थियो।

रसुवा सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि समेत जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको थियो।

भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक परिचालन गरिएको थियो।

नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा पनि जेनेरेटर, इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

भदौ १३ गते रसुवाको त्रिशूली-३ ‘ए’ नजिक रहेको टावर, उत्तरगया गाउँपालिका–स्थित कालिकास्थानको टावर र नुवाकोटको बुङताङ टावर सञ्चालनमा ल्याइएको थियो। कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सुचारु भएपछि प्रभावित १२० साइटमध्ये ९३ ओटा साइट सञ्चालनमा आएका थिए।

भदौ १४ गते थप ७ ओटा साइट सञ्चालनमा ल्याइएको थियो। यसमा रसुवा-चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट रहेका थिए।

रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएपछि नेपाल-चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको थियो।

भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइटसमेत सुचारु गरिएको थियो।

हालसम्म विद्युत् आपूर्ति नियमित नभएका केही साइट जेनेरेटरमार्फत सञ्चालनमा रहेको टेलिकमले जनाएको छ। कतिपय साइट विद्युत् आपूर्ति सहज भएसँगै स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारिता पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

सेवा पुनः सञ्चालनमा सहयोग गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाली सेना तथा सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायकका प्राविधिक, सञ्चार माध्यम तथा सम्बन्धित सहयोगी निकायप्रति नेपाल टेलिकमले आभार व्यक्त गरेको छ।


Read Previous

विपद्पीडित ग्राहकलाई बैंकिङ सेवा सहज बनाउन राष्ट्र बैंकको निर्देशन

Read Next

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar