Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

बेनीमा बन्दै ५० करोड लागतकाे नदी नियन्त्रण आयोजना   


म्याग्दी ।  म्याग्दीको सदरमुुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ ।  हिउँद लागेसँगै पानीको सतह घटेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको रोकिएको काम सुरु गारिएको हो ।

बर्खामा नदीमा बाढीको सतह बढेपछि काम रोकिएको थियाे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोड रुपैयाँ लागतमा विकासे योजना सञ्चालन गरिएकाे छ ।

बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जीनीयर कृष्ण विश्वकर्माले बताए । “गलेश्वर, राममन्दिर र बगरफाँटको योजना सम्पन्न हुने चरणमा छन्,” उनले भने “बेनी नगरपालिका–२ भस बसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।”

९ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र ८ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा २ प्याकेजमा २ सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन ५ करोड ७७ लाख रुपैयाँमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन २ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ ।

बेनी–९ स्थित राहुघाट नदी किनारमा  ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले २ करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको योजना अन्तिम चरणमा पुगेकाे छ । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन ३ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ । कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन ४ करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र ८ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुरु भएको छ । गत असारमा रु तीन करोड पचास लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुरु गरेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले आगामी असारभित्र पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाईभर्सन गरेर अस्थायी रुपमा म्याग्दीको बेनीतर्फबाट बगाइएको जिसीले बताए ।

नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि करिब ३ सय परिवारको बसोबास रहेको वारीबेनी बजारका बासिन्दा कालीगण्डकीको कटानबाट जोगिने छन् ।


Read Previous

मन्त्री ज्वालाले स्थानीयसँग छलफल गरेपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण सुचारु

Read Next

ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने

Leave a Reply

Your email address will not be published.