Nepal Purbadhar

मर्स्याङ्दी जलविद्युत केन्द्रकाे बाँध किनारकाे जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्याे  


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । ६९ मेगावाट  क्षमताकाे जलविद्युत केन्द्रले बाँध क्षेत्रकाे बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरेकाे हाे ।

केन्द्रले ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरी मुआब्जा बितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए । उनका अनुसार मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा गरिएकाे हाे ।

उक्त स्थानका १३ जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार २१ करोड ७८ लाख ८५ हजार ९ सय ६७ रुपैयाँ प्रदान गरिने गाैतमले जानकारी दिए ।

जग्गा खरिदका लागि  १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ रुपैयाँ र घरटहराका लागि ३ करोड ९० लाख ९९ हजार ३ सय १५ रुपैयाँ वितरण गरिने केन्द्रले जनाएको छ ।

गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ ।

प्रतिरोपनी  एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ ।


Read Previous

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

Read Next

‘ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण’