काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्वपूर्ण भुमिका खेल्ने बताए । ’बढ्दो प्रकोपलाई थेग्नेगरी पूर्वाधार निर्माण गर्नुपर्ने र यसको लागि एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका देशहरुले अझ बढी ध्यान दिनुपर्नेछ’ उनले भने ।
कार्वन उत्सर्जन न्यूनिकरणमा पनि सबैले योगदान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिए । पूर्वाधार परियोजनालाई दीगो बनाउने काममा निर्माण व्यवसायीको भुमिका प्रभावकारी हुने अपेक्षा गरेको उनको भनाइ छ ।
सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दीगो पूर्वाधार निर्माणको लागि साझेदारी अहिले विश्व आवश्यकता बन्दै गएको बताए । ‘नेपाल सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा रहेको र त्यसको लागि पनि पूर्वाधार क्षेत्रमा साझेदारीलाई उच्च प्राथमिकता दिएको छ’ उनले भने । सम्मेलनको नारा ‘पार्टनरिङ इन सस्टेनेवल इफ्रास्ट्रक्चर’ समय सान्दर्भिक र सरकारकै प्राथमिकताको विषय भएको उनको भनाइ छ ।
इफाप्काका अध्यक्ष रवि सिंहले नेपालमा पूर्वाधारमा लगानी गर्नको लागि ठूलो सम्भावना रहेको बताए । ‘वैदेशिक लगानीको लागि पनि आकर्षक स्थल रहेको छ’ उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले सम्मेलनले वैदेशिक लगानीको लागि आकर्षित गर्न र इफाप्का सदस्य राष्ट्रहरुबीच भाइचारा विस्तार गरी सहयोगका क्षेत्रमा सहकार्यको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
इफाफ्का महासचिव विरेन्द्रराज पाण्डेले कार्वन उत्सर्जनलाई न्यूनिकरण गर्नेगरी पूर्वाधार परियोजना निर्माण गर्नुपर्ने बताए । सम्मलेन ९ गतेसम्म चल्नेछ । तर, काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिनेछ। सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहेकाे छ ।
मंसिर ७ मा गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिनेछ । मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।
यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हालेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा अग्रज निर्माण व्यवसायी गणेश लाल श्रेष्ठ इफाप्का अध्यक्ष रहनु भएको समयमा काठमाडौंमा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।