Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार  


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारतकाे पूर्ण लगानीमा बन्ने सुख्खा बन्दरगाहकाे डिपिआर तयार भएकाे हाे ।

भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले जानकारी दिए । उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि  पाँच अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

“सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ,” उनले भने “सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने डिपिआरमा उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ ।”

सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ ।

सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ ।“दस/पन्ध्र दिनभित्रै प्रतिवेदन मन्त्रालयमा पेस हुन्छ । मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि निमार्णकार्य अघि बढ्नेछ ,” उनले भने ।

बन्दरगाह क्षेत्रमा १ हजार ९ सय ८९ रुख कटान गर्नुपर्ने अध्ययनले देखाएकाे छ । २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन ।

सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले बताए । “यो नाका चालु भए नेपाल भारतबीच सहज आवागमन हुने र लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ ,” उनले भने,“यहाँ औद्योगिक र कृषि क्षेत्रको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ । दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्वतयारीमा लाग्न जरुरी छ ।”

यहाँका उत्पादन निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी रहेको उनकाे भनाइ छ । यस पटक सरकारले सुख्खा बन्दरगाह निर्माण गर्नेमा यहाँका व्यवसायी आशावादी छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुख्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने बताए । “अहिले लामोबाटो प्रयोग गरेर यहाँ सामान ल्याउनुपर्ने बाध्यता छ । यो नाकाबाट भारतका औद्योगिक क्षेत्र छोटो दूरीमा रहेकाले यहाँको व्यापारको लागत र समय घटाउछ ,” उनले भने ।

यो नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार फस्टाउने अपेक्षा गरिएको छ ।


Read Previous

१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

Read Next

चालू वर्षकाे पहिलो चौमासिकमा कामपाकाे ३ अर्ब  राजश्व उठ्याे

Leave a Reply

Your email address will not be published.