Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान


रुकुम । रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो । “कति खेर बत्ती जान्छ टुङ्गो हुदैन । आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ”, स्थानीयवासी गणेश केसीले भने, “कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन”, उनले भन्नुभयो । बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय विजुलीका सामान व्यापारीको पनि गुनासो थियो ।

“विद्युत्बाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ”, व्यापारी प्रेम खत्रीले भने । आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत् नहँुदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ थियो । रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत् पनि सवस्टेसनमै जोडिएको छ ।

३३/११ केभी र तीन एमभीए क्षमताको विद्युत् सवस्टेसन तयार भएपछि जिल्लामा विद्युत् अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युत्का कारण हैरान भएका हुन् । धैरेनीचौरमा सवस्टेसन निर्माण नहँुदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत् आपूर्ति भने नियमित छैन । तेत्तीस केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ ।


Read Previous

काठफोर्ड कलेजले सुरु गर्यो नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस

Read Next

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published.