Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल


काठमाडौं । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा एउटा योजना छुट्दैन–हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुरयाउने । तर वर्षको अन्तिम महिनामा आइपुग्दा सरकारको योजना कागजमा मात्र सिमित हुने गरेको छ । सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजना वर्षाैदेखि अपुरो छ ।

सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजनालाई यसैबर्ष पुरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल थालेका छन् । मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरुसँग मन्त्री ज्वालाले छलफल गरे । ‘सरकारले हरेक वर्ष आफ्नो प्राथमिकतामा राख्छ तर सडक सिमिकोट पुग्दैन, यो बर्ष जसरी पनि सडक सञ्जालले हुम्ला सदरमुकामलाई जोड्नै पर्छ’ मन्त्री ज्वालाले भने ‘केही समस्या छन् भने भन्नुहोस्, समाधानको उपाय खोजौला तर सडक अपुरो भयो भन्ने छुट यसपटक हामीलाई छैन ।’

सलीसल्लादेखि सिमिकोटसम्मको ५५ किलोमिटर सडक मध्ये २.५ किलोमिटर सडक मात्र ट्रयाक ओपन गर्न बाँकि छ । ट्रयाक ओपनको काम नेपाली सेनाले गरिरहेको छ । ट्रयाक ओपनको काम केही महिनामै सक्ने नेपाली सेनाले मन्त्री ज्वालालाई विश्वास दिलाएको छ । लालीबगर–लेचे सडक खण्डको २.५ किलोमिटर सडक केही समयमा ट्रयाक ओपन भएपनि नियमित यातायातका साधनहरु चल्नसक्ने अवस्थामा छैन ।

ट्रयाक ओपन भएको च्याँछरा खण्डको ६ सय मिटर सार्वजनिक बस चल्ने अबस्थामा छैन । ट्याक्टरहरु आवत–जावत गरेपनि ठुला र साना सवारी साधन चल्ने अबस्थामा सडक नभएको मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताए ।

‘ट्रयाक ओपन भएको तर यातायात चल्न सक्ने अबस्थामा नरहेको सडकको वाँकि काम पनि नेपाली सेनालाई सुम्पिने योजना मन्त्रालयले बनाएको छ’ सहसचिव थापाले भने ‘विस्फोटक पदार्थको अभावमा च्याछरा सडकको स्तर उन्तति गर्न सकिदैन, त्यही भएर नेपाली सेनालाई जिम्मा दिने मनसाय मन्त्रालयले बनाएको हो ।’

मन्त्री ज्वालाले सडक विभागबाट यसैवर्ष गाडी चल्ने गरी सडक निर्माण गर्न नसकिने अवस्था भए नेपाली सेनालाई जिम्मा दिने बताए । ‘जसरी पनि यो वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु नै छ, त्यसका लागि सडक विभागले कहाँ के गर्ने ? नेपाली सेनाले कहाँ के गर्ने ? त्यसको योजना तत्काल ल्याउनुहोस्’ मन्त्रालयका उच्च अधिकारीहरुलाई मन्त्री ज्वालाले निर्देशन दिए ।

सलीसल्लादेखि खुलालुसम्मको १२३ किलोमिटर सडकको ट्रयाक ओपन भइसकेको छ । यही सडकमा बस चलाउन कालिकोटका एक व्यापारीले चीनको बाटो भएर जिल्लामा गाडी पुर्याएका छन् ।


Read Previous

नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषदद्वारा स्वीकृत

Read Next

भुटान एयरलायन्सका फ्लाईटहरु ३० भदौदेखि सुचारु

Leave a Reply

Your email address will not be published.