Nepal Purbadhar

नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषदद्वारा स्वीकृत


काठमाडौं । भारतले १० वर्षमा नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतको मन्त्रिपरिषद बैठकले नेपालबाट अबको १ दशक अवधिमा खरिद गर्ने विद्युतको प्रस्ताव स्वीकृत गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा आफ्नो सम्बोधनमा गरेका थियो । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा घोषणा कार्यान्वयन गर्न १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव त्यहाँको मन्त्रीपरिषदले स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भारतीय मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । ‘नेपालबाट दश वर्षमा खरिद हुने विद्युतको प्रस्ताव मन्त्रिपरिषदको स्वीकृतिले जलविद्युत विकासको नयाँ मार्गचित्र बनाउन मार्ग प्रसस्त गरेको छ,’ उनले स्टाटसमा लेखेका छन्,‘यो स्वीकृतिले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

भारतीय मन्त्रिपरिषदले नेपालको विद्युत खरिद गर्न गरेको प्रस्ताव स्वीकृतिको निर्णय स्वागत योग्य भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का बरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बताए । ‘भारतले गरेको निर्णय स्वागत योग्य छ । नेपालको बर्खाको विद्युत खेर गइरहेकाले तत्कालै यो निर्णय कार्यान्वयनमा लैजान सकेमा हाम्रो जलविद्युत उत्पादन पनि बढाउँदै लैजान प्रोत्साहन मिलेको छ’, उनले भने ।

उनले भारतले उसको लगानी भएका आयोजनाको मात्रै विद्युत लैजाने भन्ने आशंका रहेकाले त्यसलाई चिर्ने गरी नेपाली लगानीका आयोजनाको विद्युत खरिद गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने सुझाव उनले दिए ।


Read Previous

बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाकाे बीमा भुक्तानी र पुनर्कर्जा व्यवस्थापन गरियाेस्

Read Next

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल