Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन


सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत काम मात्रै भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनलको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो । सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सवस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मामा छ ।

वि.सं. २०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्मको समय थपिएको भएपनि समयमै निर्माण हुने स्थिति छैन । निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सवस्टेसन कार्य अघि बढाइने छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । स्थानीयले ३३ हजार केभी लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको उनको भनाई छ । लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् ।

गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि तीन सय ७६ पोल गाड्नुपर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको छ । उक्त सवस्टेसन रु १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ । रासस


Read Previous

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

Read Next

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

Leave a Reply

Your email address will not be published.