Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

निर्माणको ३५ वर्षपछि बनेपा बसपार्क सञ्चालनको तयारी


काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका– ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा निर्माण गरिएको बसपार्क २०४९ मा पक्की बनाइएको थियो । बसपार्क निर्माणसँगै नगरले दायाँबायाँ सटर–कवल बनाइ होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ ।

हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि यही जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याउन लागिएको हो । यसअघि बनेपा चारदोबाटोस्थित सडकछेउमा यात्रुबाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो । बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालनबारे नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिसहित बसेको बैठकले बसपार्क सञ्चालनको निर्णय गरेको छ ।

‘लामो समय सञ्चालनमा नआएको बसपार्क जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याइनेछ, त्यसका लागि छलफलपछिका आवश्यक प्रक्रियासमेत भइरहेको छ’  शाक्यले भने ।  बैठकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुबाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई आवश्यक कार्ययोजनासहितको व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बसपार्क सञ्चालनार्थ सवारी चाप व्यवस्थापन गर्न अरनिको राजमार्ग बनेपा सडकखण्डअन्तर्गत हाललाई बसपार्क प्रवेश गर्ने पश्चिमतर्फको प्रवेश मार्गदेखि तीन दोबाटोसम्म र चाँदनी चोकदेखि चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्राक खाली गराई सोही ट्र्याकबाट बस चलाउने निर्णयसमेत भएको छ ।

हाल बसपार्कमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व–पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुबहाक बस तथा टिपर पार्किङ गर्दै आइएको छ । मध्यपहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्रका रुपमा अवस्थित बनेपालाई यातायात नगरीको नामलेसमेत चिनिने गरिन्छ । रासस


Read Previous

बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सम्झौता

Read Next

जेठभित्रै इपानको नयाँ कार्यसमिति निर्वाचन गर्ने निर्णय

Leave a Reply

Your email address will not be published.