Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

चैतमा सम्पन्न हुनुपर्ने सङ्घीय संसद भवन पूरा गर्न थप १ वर्ष समय माग


काठमाडौं ।  सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् ।

विसं २०७६ असोजमा संसद भवन ३ वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुन नसकेकाले अझै एक वर्ष समय माग गरेको हो ।

उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताए । ‘निर्माण व्यवसायीले अनुमानित थप एक वर्ष माग गरेका छन् । जनशक्ति व्यवस्थापन गरी छ महिनाभित्र सम्पन्न गर्न विभागले प्रयास गरेको छ । एकवर्ष समय दिने या नदिने विषयमा भने अन्तिम निर्णय भएको छैन’, उनले भने ।

उपनिर्देशक श्रेष्ठले बाह्य संरचना बने पनि भित्री संरचना, फिनिसिङ, साजसज्जाको काम बाँकी रहेको जानकारी दिए । ६ महिना समय थप गरेअनुसार चैतमा सम्पन्न हुनुपर्नेमा हाल ६२ प्रतिशत काम भएको र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा आउन थप एक वर्ष लाग्ने उनको भनाइ थियो । कूल ५ अर्ब ६७ करोड २६ लाख  रूपैयाँ (भ्याटसहित)को लागतमा यो भवन बनाउने ठेक्का निमार्ण कम्पनी तुँदीले पाएको थियो ।

चौबिस हजार ३८० स्क्वायर मिटर ग्राउन्ड एरियामा १२ वटा भवन निमार्ण हुनेछन् भने कूल जमिन एरिया भने ७७ हजार छ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ थियो । संसद् भवनको स्वरूप आधुनिक र प्रविधिमैत्री ढङ्गले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका भवनको वास्तुकला तथा स्वरूप काठमाडाैंको परम्परागत वास्तुकला झल्कने खालको छ ।

संसद् भवन परिसरभित्र निर्माण गरिएका कार्यालयका सबै भवन एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भएका भवन तीनदेखि पाँच तलासम्मका छन् । हाल सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा बनाइ वार्षिक  साढे १४ करोड  रूपैयाँ भाडा बुझाउँदै आएको छ । विसं २०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् भवन शिलान्यास गरेका थिए ।

नयाँ सङ्घीय भवनमा पुस्तकालय

सहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार उत्तर पश्चिम भागमा रहेको पुस्तकालय भवनको उत्तरतर्फ क्याटिन, दक्षिणतर्फ तल्लो सदन, पश्चिम र पूर्वी भागमा खुल्लाक्षेत्र राखिएको छ । आयोजनास्थलको कूल क्षेत्रफल ८८ हजार दुई सय ७१ दशमलव चार वर्गमिटरमध्ये पुस्तकालय भवनले सात सय १३ दशमलव ९६ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भवन अवलोकन गरेपछि निर्माणाधीन पुस्तकालयको भित्री संरचना साँघुरो भएकाले परिमार्जन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनअनुरुप मन्त्रालयले भवनको भित्री संरचनामा परिमार्जन गर्ने प्रयास गरिरहेको सहसचिव पदमकुमार मैनालीले बताए । ‘समयसापेक्ष अनुसार नै पुस्ताकालय निर्माण भइरहेको छ । समितिले दिएको निर्देशनपश्चात् भवनको भित्री संरचनामा मिल्नेसम्म हेरफेर गरेका छाैं । निर्माण सम्पन्न हुँदासम्म पुस्तकालय योग्य नै हुन्छ’उनले भने । समितिका सदस्य तुलसाकुमारी दाहालले पुस्ताकालयको भित्री संरचना परिमार्जन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको बताइन ।

‘पुस्तकालयको भित्री संरचना साँघुरो र अँध्यारो रहेकाले परिमार्जन गर्न आवश्यक छ । मन्त्रालयले केही भित्री संरचना परिमार्जन गराएको छ । निर्माण सम्पन्न हुदाँसम्म पुस्ताकालय समयसापेक्ष हुनुपर्छ’ उनले भनिन् ।

भूकम्परहित निर्माणाधीन पुस्तकालयको पहिलो तलामा पत्रपत्रिका अध्ययन कक्ष, दोस्रोमा अभिलेखालय तथा सङ्ग्रहालय र तेस्रोमा महत्वपूर्ण कागतजात राख्ने मन्त्रालयको योजना रहेको सदस्य दाहालले जानकारी दिइन्। सिहंदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ ।

निर्माण भइरहेको भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिको कार्यकक्ष रहेको छ । त्यस्तै भवनसँगै पुस्तकालय, संसदीय दलको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय, चमेना गृह, सञ्चार कक्ष, सवारीसाधन पार्किङ र सुरक्षाकर्मी लागि भवन निर्माण भइरहेको छ । सीता भट्टराई/रासस


Read Previous

नारायणगढ–बुटवल सडक विस्तारले लियाे गति

Read Next

पूर्वाधार परियोजनामा हुने पीपीपी लगानीकाे वित्तीय जोखिम व्यवस्थापनबारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *