
काठमाडौं । ‘स्किल ग्याप’कम गर्ने भन्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले इन्डस्ट्रीको आवश्यकता अनुसार ब्याचलर्स तहको नयाँ आईटी पाठ्यक्रम तयार गर्न थालेको छ। नेपालमा हरेक वर्ष करिब १० हजार विद्यार्थी आईटी विषयमा स्नातक तह पूरा गर्ने तर उद्योगले खोजेजस्तो व्यावहारिक सीपको अभाव देखिएको भन्दै नयाँ पाठ्यक्रम तयार पार्न लागेको हो।
नास-आईटीले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) र स्वीसकन्ट्याक्टको वित्तीय तथा प्राविधिक सहयोगमा पाठ्यक्रम विकासको काम अघि बढाएको छ। नास-आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार उद्योगकै नेतृत्वमा उच्च शिक्षाको पाठ्यक्रम निर्माण हुन लागेको यो सम्भवतः नेपालकै पहिलो प्रयास हो।
विश्वविद्यालयबाट विद्यार्थीले डिग्री हासिल गरे पनि उद्योगले अपेक्षा गरेअनुसारको सीप नपाउने समस्या रहेको पाण्डेले बताए। “विद्यार्थीसँग प्रमाणपत्र हुन्छ, तर उद्योगले चाहेको व्यावहारिक क्षमता कम हुन्छ,” उनले भने, “अब बजारको मागअनुसारको पाठ्यक्रम निर्माण गर्दैछौं।”
नास-आईटीका अनुसार नयाँ पाठ्यक्रम परम्परागत कोडिङमा मात्र सीमित हुनेछैन। आर्टिफिसियल इन्टेलिजेन्स (एआई), समस्या समाधान क्षमता, डेटा विश्लेषण, क्रिटिकल थिंकिङ तथा एआईसँग काम गर्न सक्ने दक्षता विकासमा केन्द्रित हुने गरी कोर्ष डिजाइन गरिनेछ।
संस्थाले अहिले विश्वभर एआईका कारण आईटी उद्योग तीव्र रूपमा परिवर्तन भइरहेकाले भविष्यअनुकूल जनशक्ति उत्पादन आवश्यक रहेको जनाएको छ। स्वीसकन्ट्याक्टले पनि यस पाठ्यक्रमले एकेडेमिया र उद्योगबीचको दूरी घटाउँदै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
नास-आईटीले नेशनल क्वालिफिकेशन फ्रेमवर्क (एनक्यूएफ) अनुसार पाठ्यक्रम विकासको काम शुरू गरिसकेको जनाएको छ। यसमा आईटी विज्ञ, शिक्षाविद् र अन्य सरोकारवालाको सहभागिता रहेको छ।
पाठ्यक्रम निर्माण तथा सञ्चालनका लागि नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरिएको छ। विश्वविद्यालयको स्कुल अफ आईटी प्रमुख डा. भोजराज घिमिरेका अनुसार चार वर्षे कोर्षमा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा लगायतका उदीयमान प्रविधि समावेश गरिनेछ।
यस कोर्षको मुख्य विशेषता ‘वर्क-इन्टिग्रेटेड लर्निङ’ हुने बताइएको छ। विद्यार्थीले अध्ययन शुरू गरेदेखि नै आईटी उद्योगमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर पाउनेछन्। डिग्री पूरा गर्दा उनीहरूसँग शैक्षिक प्रमाणपत्रसँगै उद्योगले खोजेको व्यावहारिक अनुभव र सीप पनि हुने अपेक्षा गरिएको छ।
नास-आईटीका अनुसार यस पहलले उद्योग र विश्वविद्यालयबीचको दूरी घटाउँदै नेपालमै विश्वस्तरको आईटी जनशक्ति उत्पादनमा टेवा पुग्नेछ।
