Nepal Purbadhar

‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत


अमेरिका । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ले नेपालको तीव्र गतिमा विस्तार भइरहेको प्रविधि उद्योग र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताप्रति विश्वव्यापी चासो बढाएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजित कार्यक्रमले नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु परिचित गराउने लक्ष्य राखेको थियो ।

कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको सहभागिता थियो ।

रोडशोमा वक्ताहरूले नेपालको द्रुत रूपमा विकास भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे विस्तृत चर्चा गरेका थिए । कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरबारे आफ्ना अनुभव तथा धारणा साझा गरेका थिए ।

हाल नेपालमा २ हजारभन्दा बढी प्रविधि कम्पनी, १ लाखभन्दा बढी टेक प्रोफेसनल तथा वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात रहेको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो । पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिले धेरै डायस्पोरा सदस्यहरूलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले बताएका छन् ।

नास आईटीले यसअघि सम्पन्न ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ पछि आयोजित यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप सशक्त बनाएको जनाएको छ । साथै, कार्यक्रमले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ ।

संस्थाका अनुसार यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

अमेरिकाको डेक्सपर्ट्स इंकको प्रमुख सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा एसोसिएट पार्टनरका रूपमा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्ससहित फोकस हेल्थ, फ्युजमेसिन्स, ग्लोबल आईएमई बैंक लगायत संस्थाहरूको सहकार्य रहेको थियो ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) नेपालको सफ्टवेयर तथा आईटी सेवा क्षेत्रको अग्रणी गैरनाफामूलक उद्योग संस्था हो । संस्थाले नीतिगत पैरवी, दक्ष जनशक्ति विकास, नवप्रवर्तन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत नेपालको प्रविधि उद्योगको प्रतिस्पर्धात्मकता र विश्वव्यापी पहिचान विस्तार गर्ने कार्य गर्दै आएको छ ।


Read Previous

नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न

Read Next

‘स्किल ग्याप’ कम गर्न भन्दै पाठ्यक्रम निर्माणमा नास-आईटी आफै सक्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar