Nepal Purbadhar

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

गाह्रो परेका बेलामा ऋण लिएर अहिले तिर्दैनौँ भन्न मिल्दैन : उपाध्यक्ष संघई


रामचन्द्र संघई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा रहेका संघई वर्तमान उपाध्यक्ष हुन् । उनी महासंघको अघिल्लो अधिवेशनमा निर्वाचित भएका थिए । हाल महासंघको रोजगारदाता परिषद्को सभापतिसमेत रहेका संघईसँग नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत अन्तिम साता हुने आसन्न निर्वाचन र नेपालको वर्तमान अर्थतन्त्रमा केन्द्रित रहेर राससका उपसम्पादक कमलकुमार बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

अर्थतन्त्रका सूचकांकहरू सन्तोषजनक छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा सुधारको बाटोमा हो कि जस्तो देखिन्छ । यहाँको विश्लेषणमा हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ ?

समग्र अर्थतन्त्रको अवस्था राम्रै छ । पछिल्लो समय अर्थतन्त्रले राम्रो बाटो लागेको महसुस मैले गरेको छु । विदेशी विनिमय सञ्चिति पनि अहिले बढेको अवस्थामा छ । कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन । विस्तारै सुधार हुँदै जान्छ । हाम्रो अवस्था पनि त्यस्तै छ । विस्तारै सुध्रिँदै गएको देखिएको छ । पछिल्लो समय उद्योगी–व्यापारीलाई बैंकको चर्को ब्याजदरले समस्या भएको देखिन्छ । तर यसको पनि केही निकास निस्किएला भन्नेमा म ढुक्क छु ।

अर्थतन्त्र सुधारको बाटोमा कसरी जान सक्यो भन्ने लाग्छ ?

नयाँ सरकार बनेपछि केही सकारात्मक ऊर्जा पलाएको देखिएको हो । जनता र उद्योगी व्यवसायीमा उत्साह थपिएको पनि देखिएको हाम्रो अनुभव छ । त्यसले पनि काम गरेको हुनसक्छ । सरकारले पनि निजी क्षेत्रसँग मिलेर काम गर्ने भनेर विश्वास दिलाएको छ । सरकारले समस्या भए ल्याउन र समाधानका लागि प्रयास गर्ने विषयमा विश्वास दिलाएको पनि छ । त्यसैकारणले पनि अर्थतन्त्रमा उत्साह थपिएको हुनसक्छ । लगानीमैत्री वातावरणको विश्वास भएपछि अर्थतन्त्र चलायमान हुन्छ । जुन स्वभाविक हो । अब यस्तो लगानीमैत्री वातावरण निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघ त यस्तो वातावरण निर्माणमा लागेकै छ ।

पछिल्लो समय उद्योगी–व्यापारी चर्को ब्याज भयो भनेर आन्दोलनमा छन् । केही व्यापारीले त ब्याज नतिर्ने घोषणासमेत गरिसकेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

म बैंकको सञ्चालक पनि हो र उद्योगी–व्यापारी पनि हो । मलाई पनि बैंकको ब्याजका कारण समस्या छ । तर ब्याज नै तिर्दैनौँ भन्न त भएन नि । आफूलाई गाह्रो–साह्रो परेका बेलामा ऋण लिने तर अहिले आएर तिर्दिन भन्नु राम्रो होइन । यसमा केही सहजीकरणका लागि प्रयास गर्न सकिन्छ । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको हो । अब कसरी अघि बढ्ने त ? निकासका बाटाहरू अनेक हुन सक्छन् । तर तिनको समीक्षा र सहजीकरणको बाटो नै अघि बढ्नुपर्छ ।

उद्योगी–व्यवसायीले कर्जाको ब्याजदर एकल अंकमा झर्नुपर्छ भनिरहेका छन् । यसलाई यहाँले कसरी लिनुभएको छ ?

खुला बजार नीतिअनुसार हामीले नै हिजोका दिनमा ब्याजको दर स्थिर हुनुहुँदैन भनेका हौँ । ब्याज कहिले घट्छ र कहिले बढ्छ । स्थिर ब्याज हुँदा १२ प्रतिशतमा लिएको कर्जाको ब्याजदर आठ प्रतिशतमा हुँदा ऋणीले त्यसको सुविधा लिन पाउँदैनन् । फेरि नेपालमा मात्रै ब्याजदर बढेको होइन अमेरिका, बेलायतलगायतका देशमा पनि अहिले ब्याजदर बढेको छ । हामी निक्षेपकर्ता पनि हौँ, त्यसबाट पनि हामीले ब्याजदर पाइरहेका छौँ । निक्षेपकर्ताले बढी ब्याज र ऋणीले कम ब्याज पाऊ भन्ने हुन्छ । बजारमा माग र आपूर्तिका हिसाबले चल्ने भएकाले ब्याजदर घटबढ हुनुलाई अस्वभाविक मान्नु हुँदैन । बैंक पनि नेपाल राष्ट्र बैंकको नियमअनुसार चल्नुपर्छ । बैंकिङ क्षेत्र आजका दिनमा सबैभन्दा पारदर्शी क्षेत्रका रूपमा लिन सकिन्छ । यसका पनि आफ्ना समस्या हुन सक्छन् तर निदान नै ननिस्किने समस्या भने होइनन् भनेर सम्बद्ध सबै पक्षले बुझ्नुपर्दछ ।

हाम्रो रेमिट्यान्सले धानेको अर्थतन्त्र छ । रेमिट्यान्स कम हुँदा अर्थतन्त्रमा समस्या देखिन्छ । केही समयअघि पनि यो देखियो । यस्तो अवस्थामा अर्थतन्त्रको स्वास्थ्य राम्रो बनाउनका लागि के गर्नुपर्छ भन्ने लाग्छ ?

हाम्रोमा नीति अस्थिर हुने अवस्था छ । पहिलो कुरा त हामीकहाँ नीति आउन नै ढिला हुन्छ । आएपछि पनि कार्यान्वयनको काममा अझ ढिलाइ हुने अवस्था पनि छ । खासमा हामीलाई यसले पनि फरक पार्छ । अर्थतन्त्रको स्वास्थ्य दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुको विकल्प छैन । रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानी गर्ने वातावरण बनाउनुपर्छ । निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले निर्यातजन्य उद्योगका लागि आठ प्रतिशतको छुटको नीति लिएको छ, जुन सकारात्मक छ । तर यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी छ । आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइन्छ । यो झन्झटिलो छ । यो नीति पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ । नीति ल्याउँदा नै कार्यान्वयनको पक्षमा पनि विशेष जोड दिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्न सक्ने हो भने विदेशबाट श्रमिक ल्याउनुपर्ने अवस्था हुँदैन । यसमा पनि केन्द्रित हुनु जरुरी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले वर्तमान कार्यसमिति आएपछि भिजन पेपर सन् २०३० ल्याएको छ । यसमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने भनेको थियो । त्यसका लागि केही नीतिगत सुधारको पनि कुरा उठान गरेको थियो । यसको कार्यान्वयन कुन अवस्थामा पुगेको छ ?

महासंघले प्रकाशित गरेको भिजन पेपर कार्यान्वयनको चरणमै छ । सरकारले पनि यसलाई अनुमोदन गरिसकेको छ । सरकारले पनि कार्यान्वयनका लागि सहयोग गर्ने भनेको छ । ‘पोलिसी रिफर्म’का लागि सरकार प्रतिबद्ध छ । अहिले सरकार नयाँ आएको छ । सरकारसँग यस विषयमा कार्यान्वयनका लागि सहकार्य जारी रहेको छ । सरकार र महासङ्घका साथै सरोकारवाला निकायबीच काम भइरहेको छ । हामी सरकार र सम्बद्ध सरोकारवालासँगको आपसी समन्वय र सहकार्यमा छौँ र मलाई लाग्छ सो भिजन पेपरका कार्यक्रमहरूको कार्यान्वयन गरी पूरा गर्नका लागि हामी पनि प्रयत्तरत छौँ ।

तपाईं महासंघको रोजगारदाता परिषद् सभापतिका रूपमा रहेर पनि एक कार्यकाल काम गर्नुभयो । यस अवधिमा के–कस्ता काम गर्नुभयो ?

रोजगारदाता परिषद्मा रहँदा मैले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनका लागि सकारात्मक भूमिका निर्वाह गरेको छु । महासंघ, ट्रेड युनियन र सरकारबीच सकारात्मक भूमिका खेल्दै प्राप्त गरेको नतिजालाई मैले ठूलो उपलब्धि मानेको छु । यसबाट श्रमिकहरू पनि निकै खुसी छन् भने रोजगारदाता पनि खुसी छन् । त्यसबाहेक यसबीचमा हड्ताल र आन्दोलनलाई न्यूनीकरण गर्ने प्रयासमा पनि म सफल भएको छु । ट्रेड युनियनलाई पनि बिना कुनै कारण हडताल नगर्नका लागि सहमतिमा ल्याएको छु । अहिले रोजगारदाता, श्रमिक र सरकारका बीचमा यो विषयमा एक प्रकारको सुमधुर सम्बन्ध विकास भएर अघि बढेको महसुस मैले गरेको छु । वास्तवमा नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि पनि यो आवश्यक थियो भन्ने मलाई लाग्दछ । सोहीअनुरुप मैले नै पहल गरेर अघि बढ्यौँ र हामी सफल पनि भयौँ भन्ने लाग्दछ । रोजगारदाता परिषद्को सभापतिका रूपमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न सभा–सम्मेलनमा भाग लिएर मैले निरन्तर श्रमिकका हितका विषयमा आवाज उठाएको छु । मलाई लाग्छ नेपालका व्यवसायी एवं श्रम क्षेत्रका समग्र साथीहरूले पनि यसको मूल्यांकन गर्नु नै भएको होला ।

महासंघको आगामी कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाउनुभएको हो ?

अहिले हामी तीन जना उपाध्यक्ष छौँ । साथीहरूको पनि यो आकांक्षा होला भन्ने लाग्दछ । मेरो पनि महासंघको नेतृत्वमा जाने आकांक्षा छ नै । एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएपछि स्वतः अध्यक्ष हुने व्यवस्था विधानमा भएकाले यस्तो हुनु स्वभाविक पनि हो । आगामी कार्यकालका लागि मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको छु । यसअघि पनि मलाई साथीहरूले नै उपाध्यक्षमा उठ्न प्रेरित गर्नुभएको हो । उहाँहरूको माग र दबाबमा नै म उठेँ र निर्वाचित पनि भएँ । मलाई त्यतिबेला उम्मेदवारीका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालजीले प्रेरित गर्नुभयो उहाँको टिमबाट नै उपाध्यक्षको उम्मेदवार बनेको हो । अघिल्लो अधिवेशनमा पनि मलाई उद्योगी–व्यवासायी साथीहरूले विश्वास गरेरै निर्वाचित गरेर पठाउनुभएको हो । यसपटक पनि मलाई साथीहरूले विश्वासका साथ तपाईँ नै वरिष्ठ उपाध्यक्ष हुनुपर्छ भनिरहनुभएको छ । यसपटक टिमलाई मैले अझ बलियो बनाएको छु ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा यहाँका एजेण्डा के–कस्ता छन् ?

पहिलो विषय त महासंघले तयार पारेको भिजन पेपरलाई नै कार्यान्वयन गर्ने मेरो एजेण्डा छ । यो पूर्णरूपमा कार्यान्वयन हुनसक्यो भने मुलुकको अर्थतन्त्र निकै राम्रो अवस्थामा आउनेछ । यो कार्यान्वयन भए अर्थतन्त्रका सबैखाले सूचकांकहरूमा निकै राम्रो सुधार देख्न पनि सकिनेछ भन्नेमा हामी विश्वस्त छौँ । त्यसबाहेक जिल्ला, एशोसिएटलगायतका साथीहरूसँगको सम्पर्क बढाएर उहाँहरूको समस्या सुन्ने र समाधान गर्नेमा म प्रतिबद्ध हुनेछु । उहाँहरूको निराशालाई उत्साहमा परिणत गर्नेछु । अहिलेसम्म जति पनि जिल्लाका साथीहरूसँग भेट गरेको छु । उहाँहरू भेटपछि निकै खुसी हुनुभएको छ । यसले मेरो आत्मविश्वास बढेको पनि छ । साथै यसअघिका पूर्वअध्यक्षहरूले जसरी महासंघलाई यहाँसम्म ल्याउनुभएको छ, त्यसलाई अझ बढी सुदृढीकरण गर्दै अघि बढाउने र महासङ्घलाई अझ उचाइमा पुर्‍याउनेमा म लागिपर्नेछु । साथै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नेछु भने सरकार, निजी क्षेत्र, श्रमिक र नागरिकबीचको समन्वयका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछु । मुलुकको अर्थतन्त्र कमजोर भएसँगै मुलुकका उद्योगी–व्यवसायी साथीहरूका समस्या पनि निकै छन् । जस्तो कि म जिल्लातिर जाँदा होस् या यहीँ पनि साथीहरूसँगका भेटमा उहाँहरूले व्यक्त गर्ने गर्नुुहुन्छ विभिन्न समस्याहरू हाम्रो क्षेत्रमा छन् । ती समस्याको समाधानमा म पूर्णरूपमा लाग्नेछु र उद्योगी–व्यवसायी साथीहरूलाई सहयोगको भूमिका निर्वाह गर्नेछु ।

यहाँले निर्वाचन जित्ने आधारहरु के छन् त ?

मैले माथि नै भनेँ नि मलाई उद्योथी–व्यवसायी साथीहरूले नै निर्वाचनमा उठ्नका लागि प्रेरित गरिरहनुभएको छ । हिजो म उपाध्यक्ष निर्वाचित हुँदाको टिम पनि मसँग छ । महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि मलाई सद्भाव रहेको छ । हिजो र आजको यो संयन्त्रका कारण पनि म बलियो छु भन्ने मलाई लाग्दछ । यस निर्वाचनका लागि म विभिन्न जिल्ला पुगेको छु । व्यवसायी साथीहरूसँग तयारी पनि राम्रो गरिरहेको छु । एक कार्यकाल उपाध्यक्षका रूपमा काम गर्दा मैले राम्रै काम गरेँ भन्ने नै लागेको छ । हामीले हाम्रो आफ्नो समूहबाट दर्जनौँ कम्पनीमार्फत १८ हजारभन्दा बढीलाई रोजगारी दिन सकेका छौँ । सबैका समस्या पनि बुझेको छु र त्यसलाई समाधान गर्नका लागि पनि मसँग केही योजना छन् । ती योजना कार्यान्वयनका लागि म वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु आवश्यक छ । मलाई निर्वाचनमा उठ्नका लागि साथीहरूको माग र दबाब दुवै रहेको छ । उहाँहरूले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न भनिरहनुभएको छ त्यसैले मैले उम्मेदवारी दिने निर्णय गरिसकेको छु । हेरौँ, मुलुकका सबै उद्योगी–व्यवसायी साथीहरूको सहयोग र सद्भावका कारण परिणाम मेरै पक्षमा आउँछ भन्नेमा म ढुक्क पनि छु ।


Read Previous

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

Read Next

छ महिनामा ८ खर्ब २५ अर्बको व्यापार घाटा

Leave a Reply

Your email address will not be published.