Nepal Purbadhar

काठमाडौंमा अव्यवस्थित दूरसञ्चार तथा इन्टरनेटका तार हटाउने अभियान तीव्र


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकामा अव्यवस्थित र प्रयोगविहीन दूरसञ्चार तथा इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको छ।

शहरी सौन्दर्य अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेको तार भूमिगत परियोजनाअन्तर्गत पोलमा रहेका तारहरूको पहिचान तथा व्यवस्थापनको काम अघि बढाइएको हो।

यसअन्तर्गत त्रिपुरेश्वर-कालिमाटी-कलंकी, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर तथा पुरानो बानेश्वर-गौशाला-चाबहिल क्षेत्रमा आगामी १५ दिनभित्र चरणबद्ध रूपमा तार व्यवस्थापन तथा अव्यवस्थित तार हटाइने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस अवधिभर सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दैनिक रूपमा अभियानमा सहभागी हुन र आफ्ना सबै तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार ट्याग नभएका वा सम्बन्धित सेवा प्रदायकका प्रतिनिधि उपस्थित नभएका कारण पहिचान गर्न नसकिने तार हटाउन, काट्न वा अन्य व्यवस्थापन गर्नुपर्ने अवस्था आए त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक कम्पनी स्वयंले वहन गर्नुपर्नेछ।

त्यसैगरी, भविष्यमा नेटवर्क विस्तार, मर्मतसम्भार तथा पुनः व्यवस्थापनका कार्यहरू गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘डाइरेक्टिभ्स फर लेइङ एन्ड मेन्टेनिङ अप्टिकल फाइबर नेटवर्क’ बमोजिम मात्र काम गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस अभियानबाट कुन तार कुन सेवा प्रदायकको हो भन्ने स्पष्ट पहिचान स्थापित हुने, दूरसञ्चार पूर्वाधारको अभिलेखीकरण तथा नियमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने तथा पोल प्रयोगबापतको शुल्क र अन्य दायित्व व्यवस्थापनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

विद्युतीय संरचना भूमिगत गर्ने परियोजनालाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्चस्तरीय समिति गठन गरी आवश्यक सहजीकरण गर्दै आएको जनाएको छ।


Read Previous

मन्त्रिपरिषद्का निर्णय : रावल आयोगको प्रतिवेदन कार्यान्वयनदेखि नियुक्तिसम्म

Read Next

अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar