
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ।

‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित शुरू भएको एक्स्पो असार २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा स्वदेशी तथा अन्तर्राष्ट्रिय गरी १०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ।

आयोजकका अनुसार एक्स्पोले प्रमुख ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय तथा हजारौँ उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्य राखेको छ। करिब ३५ हजारभन्दा बढी आगन्तुकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।
मेलामा दैनिक उपभोग्य वस्तु, भान्सा तथा घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला तथा गहना लगायतका उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

त्यसैगरी, कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव लिन सकिने गरी ‘इन्टरएक्टिभ जोन’ समेत व्यवस्था गरिएको छ।
मेला अवधिभर अवलोकनकर्ताका लागि विशेष छुट, लक्की ड्र तथा आकर्षक उपहारहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ।



