
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिका सदस्यमा मन्त्रालयका उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन्।
मन्त्रालयले समितिलाई घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा प्रक्रियागत कमजोरीबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिएको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा अपनाइएका प्रक्रियाको समेत समीक्षा गरिने जनाइएको छ।
मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली रहेको प्रारम्भिक रूपमा देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ।
यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि मन्त्रालयले गृह मन्त्रालयलाई समेत पत्राचार गरेको थियो।
मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। छानबिन प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही अघि बढाइने मन्त्रालयले स्पष्ट गरेको छ।


