Nepal Purbadhar

११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा


भजनी । निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका–३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जागेको छ। निर्माण कम्पनीको लापरवाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिला हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन्।

पुलको बीचको स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरी बताउँछन्। ‘पुलको काम प्रत्येक वर्ष सुरु हुँदा यस वर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो। बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो,’ उनी भन्छन्, ‘अब लगभग पुलको काम सम्पन्न हुने देखिएको छ।’

भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि भजनीवासीको पुलबाट आवागमन गर्ने सपना पूरा हुन लागेको बताए। ‘दुई स्पामको काम गत वर्ष नै सम्पन्न भएको थियो। बाँकी रहेको एक स्पामको ढलान भएको छ। एक दशकपछि बल्ल पुल बन्ने आशा पलायो,’ वडाअध्यक्ष चौधरीले भने, ‘अब पुल बन्छ। लामो समयदेखि स्थानीयवासीले देखेको पुल प्रयोग गर्ने सपना पूरा हुने भएको छ।’

विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयवासीलाई कान्द्रा नदीकै कारण ओहोरदोहोर गर्न निकै समस्या थियो। डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुंगामा सवार गरेवापत पनि पैसा तिर्नुपर्ने अवस्था थियो । हिउँदमा पनि नगरपालिकाले डुंगा सञ्चालनका लागि ठेक्का दिने भएपछि नदी तरेको पैसा तिर्दै आएका स्थानीयलाई पुल निर्माण भएपछि सबै कुराको सहज हुने स्थानीय दीपक बोहरा बताउँछन्।

‘बर्खाको समयमा भजनीका अधिकांश बस्ती बाढी र डुबानमा हुन्छन्। त्यो समयमा गाउँमा कोही बिरामी पर्दा पनि अस्पतालसम्म पुर्याउन निकै कठिन अवस्था छ। त्यसको कारण कान्द्रा नदी हो,’ उनी भन्छन्, ‘पुल बनेपछि यस्ता कयौँ समस्याको समाधान हुनेमा हामी आशावादी छौँ । हाम्रा लागि पुल महत्वपूर्ण स्रोत बन्ने छ।’ एक सय मिटर लामो सो पुलको विसं २०६८ जेठ ३१ मा ठेक्का सम्झौता भएको थियो। सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले बताएको छ।

बिरुवा/लामा/शेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुनसकेको थिएन। तीन करोड ४५ लाख २० हजार रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीले पाएको थियो। पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिएका छन्।

उनका अनुसार आगामी चैत मसान्तसम्म पुलको म्याद थप गरिएको छ। थप गरिएको समयभित्र निर्माण कार्य पूरा हुने बताइएको छ। ‘पुलको महत्वपूर्ण काम सम्पन्न भइसकेको छ। थपिएको समयमा काम पूरा हुन्छ। यस वर्षको वर्षायाममा भजनीका जनताले पुलमा ओहोरदोहोर गर्न पाउनेछन्,’ सुनारले भने, ‘निर्माण कम्पनीको लापरवाहीका कारण पुल निर्माणको काम सम्पन्न हुन समय लागेको हो। अब भने काम सम्पन्न हुन्छ।


Read Previous

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

Read Next

कर्णाली करिडोरसँग जोडिँदै खत्याड गाउँपालिका