Nepal Purbadhar

बूढीगण्डकीको बाढीले गोरखाका करिब ५ हजार घर अन्धकारमा, विद्युत् र इन्टरनेट सेवा ठप्प


गोरखा। बूढीगण्डकी नदीमा आएको बाढीले विद्युत् आयोजना, प्रसारण संरचना र वितरण केन्द्रमा क्षति पुर्‍याउँदा उत्तरी गोरखाका करिब ५ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। बाढीका कारण सडक, पुल र सञ्चार संरचनासमेत क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दा थप समस्यामा परेका छन्।

आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला क्षेत्रबाट बूढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ जगतमा रहेको सिर्दिबास–उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो। आयोजना क्षतिग्रस्त भएपछि चुमनुब्री गाउँपालिका–३ र ६ का विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए।

उनका अनुसार लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासलगायतका बस्तीमा विद्युत् सेवा प्रभावित भएको छ। यसबाट ९७१ घरधुरी प्रभावित भएका छन्।

“बाढीले विद्युत्का १२ ओटा पोल बगाएको छ। एउटा टावर र तारहरू पनि बगाएको छ। पावरहाउस भने सुरक्षित छ,” गुरुङले भने, “आइतबार बिहान ४ बजेदेखि यो क्षेत्रमा बिजुली छैन।”

विद्युत् र इन्टरनेट नहुँदा प्रशासनिक काम प्रभावित

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा पालिकाको प्रशासनिक काम प्रभावित भएको छ। निजी सङ्घसंस्था र स्थानीय नागरिकसमेत समस्यामा परेका छन्।

बाढीले पुल र सडक बगाउँदा आवतजावतसमेत कठिन बनेको उनले बताए। विद्युत् सेवा अवरुद्ध भएपछि सूचना आदानप्रदान र सञ्चार सम्पर्कमा समेत समस्या भएको उनको भनाइ छ।

“बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो। अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदानप्रदानमा समस्या भएको छ,” सापकोटाले भने।

उनका अनुसार बाढी आउनुअघि र त्यस क्रममा फोन सम्पर्क हुन सकेकाले सयौँ मानिसको ज्यान जोगाउन सहयोग पुगेको थियो। अहिले फिलिमका केही घरमा जडान गरिएका सोलार प्रणालीको सहायताले स्थानीयले मोबाइल चार्ज गर्ने र बाहिर सम्पर्क गर्ने गरेका छन्।

चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बाढीले सडक र पुल बगाउँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नसमेत कठिन भएको छ।

“फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने। बाढीले पुल र बाटो सबै बगायो,” उनले भनिन्, “बिजुली पनि नहुँदा यो क्षेत्र अन्धकार बनेको छ। धन्न मानवीय क्षति भने भएको छैन।”

उनका अनुसार उत्तरी गोरखाका अधिकांश बस्तीमा विद्युत् र इन्टरनेट सेवाको समस्या छ।

धार्चेका चार हजार घरधुरी विद्युत् विहीन

बाढीबाट धार्चे गाउँपालिका पनि प्रभावित भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार पालिकाका सातै ओटा वडाका करिब ४ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्।

बाढीले नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा क्षति पुर्‍याएपछि धार्चे क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए।

“बाढीले यहाँको बिजुली, सञ्चार, बाटोघाटो र पुल सबै बगायो,” बस्नेतले भने।

यसैगरी, आरुघाट गाउँपालिकाका ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ। गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार वडा नम्बर ५ को शान्तिबजार क्षेत्रमा रहेका घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका हुन्।

बाढीबाट विद्युत् आयोजना, वितरण संरचना, सडक र पुलमा भएको क्षतिले उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सडक सम्पर्कसमेत टुट्दा स्थानीयको दैनिक जीवन, सरकारी सेवा प्रवाह र आपत्कालीन सूचना आदानप्रदानमा चुनौती थपिएको छ।


Read Previous

महँगीको मारमा दशैं, उपभोक्ता चिन्तित, चाडपर्व मनाउनै मुस्किल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar