Nepal Purbadhar

महँगीको मारमा दशैं, उपभोक्ता चिन्तित, चाडपर्व मनाउनै मुस्किल


काठमाडौं। दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड बढेको छ। भोटाहिटी, असन, इन्द्रचोक, ठमेल, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकमा लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तु किन्नेको चहलपहल बढे पनि मूल्यवृद्धिले उपभोक्ताको बजेट भने प्रभावित भएको छ।

खाद्यान्न, लत्ताकपडा, फलफूल, तरकारी र मासुजन्य पदार्थको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवारलाई दशैंको खर्च जुटाउन कठिन भएको छ। उपभोक्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा आवश्यक पर्ने सामग्रीसम्मको मूल्य बढेको छ।

काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढ्दै जाँदा चाडपर्व मनाउनसमेत कठिन हुन थालेको बताए। उनका अनुसार जिरा मसिनो चामलको एक बोरामा ३०० रुपैयाँसम्म मूल्य बढेको छ भने खसीको मासु प्रतिकेजी ३०० देखि ४०० रुपैयाँसम्म महँगिएको छ।

“न्यून आय भएका परिवारलाई त दशैं मनाउन पनि मुस्किल हुने देखिएको छ,” उनले भने।

तिनकुनेकी स्मिता खत्रीले पनि लत्ताकपडाको मूल्य बढे पनि आफ्ना तीन सन्तानका लागि नयाँ लुगा किनेको बताइन्। दशैंमा छोराछोरीलाई नयाँ लुगा लगाइदिने परम्परा र चाहनाका कारण आर्थिक भार बढेको उनको भनाइ छ।

“दशैंमा एकसरो लुगा त फेरिदिनुपर्‍यो नि। सीमित आयस्रोत हुनेलाई दशैं त दशाजस्तै हुने भयो। नमनाएर पनि नहुने,” उनले भनिन्।

चिनियाँ नाका अवरुद्ध हुँदा आपूर्तिमा असर

उपभोक्ताले बजारमा मूल्य बढ्नुको एउटा कारण चीनसँग जोडिएका व्यापारिक नाका अवरुद्ध हुनुलाई पनि मानेका छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीपछि चीनतर्फका रसुवा र तातोपानी नाकामा अवरोध हुँदा सामान आयात प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले नाका अवरुद्ध हुँदा व्यापार तथा वस्तु आपूर्तिमा ठूलो असर परेको बताए।

उनका अनुसार दशैंलगायत चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ बराबरका सामान नाकामै रोकिएका छन्। यसले बजारमा विशेषगरी लत्ताकपडालगायतका वस्तुको आपूर्तिमा समस्या सिर्जना गरेको उनले बताए।

यद्यपि, बजारमा देखिएको मूल्यवृद्धि नाका अवरुद्ध हुनुको मात्रै परिणाम नभई आपूर्ति व्यवस्था, ढुवानी खर्च र अन्य व्यापारिक अवस्थासँग पनि सम्बन्धित हुन सक्ने भएकाले मूल्यवृद्धिको कारणबारे थप अध्ययन आवश्यक देखिन्छ।

मूल्य नियन्त्रण गर्न नियमित बजार अनुगमनको माग

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस वर्ष दशैंको समयमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीको मूल्य बढेको बताए। ताजा तरकारी, फलफूल तथा मासुजन्य पदार्थको मूल्यसमेत महँगिएको उनको भनाइ छ।

तिमल्सिनाले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार आपूर्ति शृङ्खला व्यवस्थित गर्ने र अनुचित मूल्यवृद्धि रोक्न सरकारी निकाय सक्रिय हुन आवश्यक छ।

“सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर अघि बढ्नुपर्ने जरुरी देखिएको छ,” उनले भने।

दैनिक २५ देखि ५० फर्मको अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र पारिएको बताए।

उनका अनुसार विभागले दैनिक २५ देखि ५० ओटासम्म फर्म तथा कम्पनीको अनुगमन गरिरहेको छ। अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएर सामान बिक्री गर्ने व्यापारी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनले जानकारी दिए।

महानिर्देशक शाक्यले उपभोक्तालाई ठगी हुन नदिन र बजारमा अनुचित मूल्यवृद्धि रोक्न तोकिएको मूल्यअनुसार वस्तु तथा सेवा बिक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

दशैंमा बजारमा किनमेलको चहलपहल बढेसँगै उपभोक्ताको खर्चसमेत बढेको छ। चाडपर्वको परम्परा धान्नुपर्ने बाध्यता र आम्दानीको सीमितताबीच मूल्यवृद्धिको मार खेपिरहेका सर्वसाधारणका लागि यस वर्षको दशैं थप खर्चिलो बन्दै गएको छ। यस्तो अवस्थामा बजार अनुगमनसँगै सहज आपूर्ति र मूल्य नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका आवश्यक देखिएको छ।


Read Previous

भक्तपुरको सल्लाघारीमा पाइन्छन् मुस्ताङका च्याङ्ग्रा, किलोको १ हजार ३०० रुपैयाँ

Read Next

बूढीगण्डकीको बाढीले गोरखाका करिब ५ हजार घर अन्धकारमा, विद्युत् र इन्टरनेट सेवा ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar