Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना र यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने घाेषणा


काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सरकारको न्युनतम साझा कार्यक्रम बाचन गर्दै उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने बताएका हुन् ।

उनका अनुसार सडक, रेल, सुरुङ, हवाईलगायतलाई समेट्नेगरी गुरुयोजना तयार गरिनेछ ।

यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाका मेरुदण्ड, नागरिकले पाउने सुविधा एवं समुदाय-समुदायबीचको अन्तरसम्बन्धको माध्यमका रूपमा विकास गर्ने  सरकारकाे नीति रहनेछ ।

साझा कार्यक्रममा हरेक जिल्ला सदरमुकामलाई रणनीतिक सडक सञ्जालमा जोड्ने २ वर्षभित्र सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक निर्माण गर्ने, निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू ५ वर्षभित्र सम्पन्न गर्ने, भौगोलिक विकटताले सम्भव नभएका बाहेक आधा घण्टाभित्रको दूरीमा सबै गाउँबस्तीलाई सडकको पहुँचमा पुऱ्याउने उल्लेख छ ।

यातायात व्यवस्थापन प्राधिकरण गठन गरी समग्र यातायात व्यवस्थापनको सहजीकरण, अनुगमन र नियमन गर्ने गरी सार्वजनिक यातायात प्रणालीको विकास गर्ने र यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गर्ने  उल्लेख गरिएकाे छ ।

सम्भावित सवारी दुर्घटनास्थल र बारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने आवधिक रूपमा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने र सवारी साधनको मेकानिकल टेष्ट गर्ने व्यवस्थालाई अनिवार्य बनाउने भनिएकाे छ ।

भयावह बनिरहेको सडक दुर्घटनाका कारणहरूको गहन अनुसन्धान गरी आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने, सडक यातायात, रेल, जलमार्ग र हवाई सबै योजनालाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने उल्लेख गरिएकाे छ ।

हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्गका साथै उत्तर दक्षिण जोड्ने राणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने र राजमार्गहरूमा गुणस्तरीय खानपिनसहितको रेस्ट एरियाको प्रबन्ध गर्ने नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा समावेश गरिएकाे छ ।


Read Previous

घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

Read Next

सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा

Leave a Reply

Your email address will not be published.