Nepal Purbadhar

तेमाल बृहत् खानेपानी योजनामार्फत आउँदो चैतसम्ममा ९ हजार घरमा खानेपानी


काभ्रेपलाञ्चोक ।  आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन ।

कोरोनाको पहिलो र दोस्रो लहरका कारण तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नाका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष पछि धकेलिएको थियो ।

हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पु¥याइने उपभोक्ता समितिले जनाएको छ । आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए ।

उनले आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको र हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको बताए । अध्यक्ष लामाका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको र मेनलाइन तथा शाखा लाइनमा पाइप बिछ्याएर घरघरमा धाराका लागि सामग्री वितरण भइरहेको छ ।

प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको छ । हाल तेमाल गाउँपालिका–१ सस्यूखर्क र आधावाट, वडा नं ७ को चापखोरी, वाडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब ९ सय घरमा खानेपानी पु¥याइनेछ । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करिब ५५ हजार बासिन्दाका लागि उक्त आयोजना सञ्चालन गरिएको हो ।

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर पाइप उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएकामा सोही अनुसार ३१ किमी पाइप बिछ्याइएको छ । यसैगरी रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ ।

आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट हालै १० करोड ३४ लाख ४१ हजार रूपैयाँ उपलब्ध गराइएको छ । उक्त आयोजनाका लागि ५ करोड रूपैयाँ बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए ।

आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले उक्त खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेंसीमा गत साउन १७ र १९ गते आएको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीमा क्षति हुन नदिन सुरक्षित गरिएको छ ।

बाढीले त्यतिबेला आयोजनाको ६० लाख रूपैयाँभन्दा बढी पूर्वाधारमा क्षति पु¥याएको थियो भने करोडाँैका संरचनामा जोखिम हुने स्थितिमा पु¥याएको थियो । तेमाल क्षेत्रअन्तर्गत उक्त गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नं वडाका बासिन्दाले सो खानेपानी उपभोग गर्न पाउने छन्।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण काममा निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउँदा केही पछि धकेलिएको थियो । अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

खानेपानी विभागले उपलब्ध गराएको १ अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउन संरचना बनिसकेका छन् । रासस


Read Previous

विकास खर्च बढाउन सरकारलाई परिसंघकाे आग्रह

Read Next

लाइसेन्सकाे समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : पूर्वाधार मन्त्री