Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

गण्डकी प्रदेश गौरवको त्रिवेणी-दुम्किबास सडक आयोजना निर्माणमा निकुञ्ज बाधक


त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोड्ने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो ।

गत शुक्रबार नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाको दोस्रो साधारणसभाको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गौरवको आयोजना अन्तर्गत रहेको त्रिवेणी-दुम्किबास सडकको काम अघि बढ्न नसकिएको स्वीकार गरे ।

प्रदेश स्थापनासँगै गौरवको आयोजनाका रुपमा लिइएको त्रिवेणी-कोरला सडक अन्तर्गतको यो खण्डमा काम गर्न निकुञ्जका कारण समस्या भएको उनकाे भनाइ छ ।

युनेस्कोसँग समेत जोडिएको विषय भएकाले काम गर्न झन्झटिलो भएको उनको भनाइ छ । तर सचिवस्तरीय निर्णय भएकाले काम छिट्टै सुरु हुनेमा उनले विश्वास व्यक्त गरे ।

प्रदेश सरकारको पहिलो ५ वर्षको कार्यकाल सकिएको छ तर प्रदेश स्थापनासँगै चर्चामा रहेको त्रिवेणी–कोरला सडक अन्तर्गतको त्रिवेणी –दुम्किबास सडक निर्माणको काम भने सुरु हुन नसकेको हो ।

दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करिब १९ किलोमिटर खण्डमा सडक निर्माण हुन नसकेको हो । सडकखण्डमा करिब ८ किलोमिटर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ ।

विसं २०५९ अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनतामार्ग नामाकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस सडकखण्ड चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएपछि बन्द भएको थियो ।

त्रिवेणी-दुम्किबास सडकखण्ड निर्माण गरी सञ्चालनका लागि पहल अघि बढिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको दाबी छ ।

सडक निर्माणका लागि विभिन्न स्तरमा पहल भएकाले काम अघि बढ्ने उनकाे भनाइ छ । ‘हामीले विभिन्न तहमा पहल गरेका छौँ, यो पालिकाको सडक मात्रै रहेन दुई देश जोडेने महत्वकाक्षी सडक पनि हो’, अध्यक्ष गिरीले भने ।

त्रिवेणी-दुम्किबास-झ्यालबास-डेढगाँउ-भीमाद-खैरेनी हुँदै पोखर जोडिने यो सडक खण्ड अन्तर्गत नवलपुरको झ्यालबास–डेढगाउँ खण्डमा भने गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाएको छ ।


Read Previous

अर्काे हप्तादेखि प्राधिकरणले हटाउने भयो राजधानीका अव्यवस्थित तार

Read Next

पूरा हुँदै साढे ४ दशकदेखिकाे पोखरेली सपनाः जनवरी १ देखि पाेखरा विमानस्थलमा उडानकाे तयारी

Leave a Reply

Your email address will not be published.