
काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियालाई व्यवस्थित र सहज बनाउन तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।
यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार सम्झौता भएको हो।
सम्झौताअनुसार यातायात व्यवस्था विभागमा सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत जारी हुने लाइसेन्सको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। सोही विवरणका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्ने व्यवस्था गरिएको छ।
छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित प्रदेश कार्यालय वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याइनेछ।
यस व्यवस्थाले लाइसेन्स छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउनुका साथै सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न लाग्ने समय र झन्झट कम हुने अपेक्षा गरिएको छ।
तीन निकायबीचको सहकार्यबाट लाइसेन्स वितरण प्रणालीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने सरकारको योजना छ।

