
काठमाडौं। बाढी र पहिरोका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकखण्डमा सरकारले असोजभित्र यातायात सञ्चालन गर्ने गरी मर्मत तथा पुनर्निर्माणको काम तीव्र बनाएको छ।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ। यस सडकखण्डअन्तर्गत देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिसकिएको छ।
विदुर क्षेत्रमा बाढीका कारण क्षतिग्रस्त सडकमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु गरेको छ। सडक पुनः सञ्चालनका लागि आवश्यक स्थानमा वैकल्पिक मार्ग तथा संरचना निर्माणलाई समेत अघि बढाइएको छ।
यस्तै, रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडानका लागि फाउण्डेशन निर्माणको काम सुरु भएको छ। बेत्रावती-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा भने हाल ठूलो समस्या नरहेको जनाइएको छ।
स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएकाले त्यसका लागि आवश्यक तयारी भइरहेको छ।
स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त क्षेत्रमा नयाँ सडक निर्माणका लागि सर्वेक्षणको काम सुरु भइसकेको छ।
सरकारले तत्काल यातायात सञ्चालनमा ल्याउने गरी अस्थायी संरचना र सडक मर्मतलाई अघि बढाउनुका साथै दीर्घकालीन रूपमा यस क्षेत्रमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत गरेको छ।

