Nepal Purbadhar

भदौमा मात्रै १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालनमा


काठमाडौं। नेपाल टेलिकमले भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ। दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका-३ को कार्यालय र च्याउन्डाँडामा नयाँ मोबाइल साइट सञ्चालन गरिएको छ। चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ मोबाइल साइट सञ्चालन गरिएको छ।

कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत-जुम्लारोडमा तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रुपान्तरणको वर्षका रूपमा अघि बढाउँदै देशभर फोरजी सेवाको पहुँच विस्तार, टेलिफोन सेवाका प्रयोगकर्ता बढाउने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको छ।

डिजिटल प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय सञ्चार सेवामा जोड्ने सरकारको उद्देश्य छ।

नयाँ मोबाइल साइट सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा समेत सुधार आउने टेलिकमले जनाएको छ। दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा थप सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट सञ्चालन गर्दै जाने टेलिकमको योजना छ।


Read Previous

मन्त्रालयका सचिव-सहसचिवसँग कार्यसम्पादन सम्झौता

Read Next

असोजभित्र गल्छी-स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar