Nepal Purbadhar

खहरे खोलाको पानी ल्याउन रामनगरका स्थानीय श्रमदानमा


चितवन । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् ।

भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् ।

पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै ५ किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वर्षाै भइसकेकेकाे छ ।

रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुआत गरेका हुन्होर ।

सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफलसमेत गरेका थिए । लगत्तै उनकै नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो ।

विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चार पानी ट्याङ्की निर्माण गरिएका थिए ।

जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो ।

अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको छ ।

स्थानीय सीता भट्टले नगरवासीको मुख्य समस्या पानीको रहेको बताइन । ‘इनारको पानी खान बाध्य छौँ’  उनले भनिन् । हाल दैनिक एक सय जना जनश्रममा जुटेकाे उनले जानकारी दिइन् ।

स्थानीय राधा कुँवर र भोलादेवी कुँवर गुप्ताले पनि घरको काम छाडेर जनश्रममा जुटेको बताए ।  रासस


Read Previous

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

Read Next

चेपे ए जलविद्युत आयोजना कार्यालयमा तोडफोड र आगजनी, इप्पानले गर्यो कार्वाही र क्षतिपूर्तिको माग