Nepal Purbadhar

३ वर्षमा ५० किलाेमिटर कालाेपत्रे गर्नुपर्ने सडक ठेक्का, ४ वर्षमा २९ किलोमिटर मात्रै सम्पन्र


कैलाली । कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ ।

कुल ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो ।

विसं २०७५ फागुनमा सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा अहिलेसम्म २९ किलोमिटरको काम मात्र पूरा भएको हो ।

सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए ।

कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने जानकारी दिए । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको छ ।

विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु थियाे ।

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम १ करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ ।


Read Previous

डिप ट्युबवेलमार्फत सिचाइ गर्न खेतमै विद्युत् सेवा

Read Next

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण