Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

चुनाव जित्न सुक्खा बन्दरगाहदेखि सिँचाइ पुर्याउनेसम्म उम्मेद्वारका नारा   


महेन्द्रनगर/दोधारा चाँदनी (रासस): कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयलाई यस पटक पनि चुनावी ‘एजेण्डा’ बनाएका छन् ।

२०७४ सालकाे निर्वाचनमा समेत चुनावी ‘एजेण्डा’ बनेको दोधारा चाँदनी सुख्खाबन्दरगाह निर्माणको विषय दलीय प्राथमिकतामा परे पनि काम भने सोचेअनुसार अघि बढेन । सरकारले चालू आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेर बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाए पनि प्रस्ताव भने २०६४ सालमा भएको थियो ।

बितेको ४ वर्षमा सुक्खा बन्दरगाह निर्माणस्थल परिर्वतनबाहेक देख्नेगरी कुनै काम नभएको दोधारा चाँदनीका स्थानीयबासीकाे भनाइ छ । लामो समय दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा याे बन्दरगाह बनाउन प्रस्ताव गरिए पनि त्यहाँ स्थानीयको बिरोधका कारण दोधारा चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वनमा निर्माणको प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेसका नेता एंव सत्ता–गठबन्धन तर्फबाट क्षेत्र नम्बर -३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै यहाँ त्रिदेशीय नाका निर्वाचनको प्रमुख एजेण्डा नै बनाएका छन् । “महाकाली पुलमा पक्की पुल बनेसँगै पारी दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाएर करिडोर जोडेर नेपाल–भारत र चीनको त्रिदेशीय नाका पाँच वर्षभित्र बनाउने गरी काम अघि बढ्नेछ”, लेखकले भने, “कञ्चनपुरलाई ठूलो आर्थिक नाका बनाउने गरी काम गर्ने विषय मेरो प्राथमिकतामा छ ।”

उनले महाकाली सन्धिअनुसार शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि ल्याउनुपर्ने ३५० क्युसेक पानीसमेत ल्याउने प्रमुख ‘एजेण्डा’ बनाएका छन् । सिँचाइका लागि पानी ल्याउन विषय २०७४ सालकाे निर्वाचन जितेका एमाले नेता डा. दीपकप्रकाश भट्टले पनि त्यतिबेलादेखि नै प्राथमिकताका साथ उठान गरे पनि भारत तयार नहुदा नेपालले पाउनु पर्ने पानी आउन सकेको छैन ।

महाकाली नदीमा ४ लेनको पक्की पुल र पहुँचमार्गको निर्माण अन्तिम चरणमा छ । उक्त पुल नेता लेखकको पहलमा बनेको भन्दै कांग्रेस नेताहरूले चुनावी ‘एजेण्डा’ बनाएका छन् । नेकपा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पालले पनि कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गरिने आफ्नो प्रमुख ‘एजेण्डा’ रहेकोे बताए ।

“महाकाली करिडोर निर्माणका लागि हाम्रो सरकारको पालमा ९८ करोड रुपैयाँ बजेट आएको छ । त्यसको काम अहिले ठप्प छ”,उनले भने, “कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न ‘करिडोर’ र सुक्खा बन्दरगाह निर्माणको काम गर्ने मेरो प्रमुख एजेण्डा छन् ।”

सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोर निर्माणको काम अगाडि बढाउने उनले बताए । “दोधारा चाँदनीमा अझै पनि गरिबीको समस्या छ, स्वदेशमै रोजगारी सिर्जना हुने काम गर्छु”, उनले भने, “समाजमा शान्ति स्थापना पनि दोधारा चाँदनीलाई नमूना सहर बनाउन पहल गर्छौं ।”

त्यसैगरी, गत निर्वाचनमा मझगाउँ विमानस्थल निर्माणलाई पनि दलहरुले चुनावी ‘एजेण्डा’ बनाएका थिए । तर, विनास्थल निर्माण अहिले जग्गाप्राप्तिको विषयले अलमलमा परेको छ । महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने चुनावी नारा बनाएका दलहरुले भाषण गरेअनुसार भने काम अस्पतालमा पनि भएको छैन । चिकित्सकको वृद्धि र अस्पतालका सुधारका काम भने यो बीचमा धेरै भएका छन् ।

त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पर्ने बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको निर्माणको विषय पनि चुनावी ‘एजेण्डा’ बन्न थालेको लामो समय बितिसकेकाे छ । चालू आर्थिक वर्षमा उक्त आयोजना अघि बढाउन सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको भए पनि आयोजनाको शिलान्यास भने डेढ वर्षअघि नै भइसकेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम कछुवा गतिमा छ । त्यहाँ सामुदायिक वनमा राखिको शिलान्यासको शिलालेख नै अलपत्र अवस्थामा छ । साढे २ दशकअघि औद्योगिक क्षेत्रको घोषणा गरिएको भए पनि अहिले प्रस्तावित क्षेत्रमा रुख कटानका लागि नम्बरिङ गर्ने कार्यबाहेक केही काम भएको छैन ।

यहाँको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम चलिरहेको भए पनि उक्त विषयमा पहल गर्ने विषयमा पनि दलबीच चुनावी मुद्दा बनेको छ । एमालेका उम्मेदवारहरू  बितेको ५ वर्षको अवधिमै सरकारले सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेपछि कामले गति लिएको बताइरहेका छन् ।

त्यसैगरी, विगतमा चुनावी ‘एजेण्डा’ बन्दै आएको डोकेबजार–दैजी हुलाकी सडकको काम अझै पूरा भएको छैन । ६२ किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माण ४ वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । निर्वाचन क्षेत्र नम्बर-१ मा बेलौरीलाई भन्सार नाकाका रुपमा विकास गर्ने विषय पनि चुनावी ‘एजेण्डा’ मात्रै बन्ने गरेको स्थानीयको भनाइ छ ।


Read Previous

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने   

Read Next

कर्जाको ब्याज, सेवा शुल्कलगायतमा वृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति घरेलु महासंघको विरोध

Leave a Reply

Your email address will not be published.