Nepal Purbadhar

एलन मस्कको स्पेसएक्सले आइपिओ जारी गर्ने, विश्वकै ठूलो सेयर विक्री हुनसक्ने


काठमाडौं। एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) ल्याउने तयारी गरेको छ। बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि विश्व वित्तीय बजारमा व्यापक चासो देखिएको हो।

कम्पनीले उठाउन चाहेको रकम औपचारिक रूपमा सार्वजनिक नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रस्तावको आकार ७५ अर्ब डलरभन्दा बढी हुनसक्ने बताएका छन्। यदि यस्तो भयो भने यसले सात वर्षअघि २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोको आइपिओलाई उछिन्नेछ।

औपचारिक नाम स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन रहेको स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाएको थियो। तर सञ्चालनतर्फ कम्पनीले पाँच अर्ब ६० करोड डलर घाटा व्यहोरेको प्रोस्पेक्टसमा उल्लेख छ। यो वर्षको सुरुआती महिनामा पनि घाटा जारी रहेको कम्पनीले जनाएको छ।

स्पेसएक्सले आइपिओबाट उठ्ने रकम चन्द्रमा र मङ्गल ग्रहमा मानव बस्ती स्थापना गर्ने दीर्घकालीन योजनामा प्रयोग गरिने जनाएको छ। कम्पनीले मानवलाई ‘बहुग्रहीय प्रजाति’ बनाउने लक्ष्य राखेको उल्लेख गर्दै सभ्यतालाई समाप्त गर्न सक्ने जोखिमबाट मानव जातिलाई जोगाउन अन्तरिक्ष विस्तार आवश्यक रहेको दाबी गरेको छ।

प्रोस्पेक्टसका केही अंश विज्ञान–कथाजस्ता देखिएका छन्। एउटा खण्डमा मस्कले मङ्गल ग्रहमा कम्तीमा १० लाख जनसङ्ख्या भएको स्थायी मानव उपनिवेश स्थापना गर्न सफल भएमा मात्रै विशेष क्षतिपूर्ति पाउने व्यवस्था उल्लेख गरिएको छ।

यो आइपिओ सफल भए मस्क विश्वकै पहिलो १० खर्ब डलरभन्दा बढी सम्पत्ति हुने व्यक्ति बन्न सक्ने अनुमान गरिएको छ। फोर्ब्सका अनुसार हाल उनको अनुमानित सम्पत्ति आठ खर्ब ३९ अर्ब डलर रहेको छ।

स्पेसएक्सको सबैभन्दा सफल व्यवसायमध्ये स्टारलिङ्क पनि एक हो। कम्पनीका अनुसार न्यून पृथ्वी कक्षामा रहेका करिब १० हजार उपग्रहमार्फत १५० देश तथा क्षेत्रमा एक करोडभन्दा बढी मानिसलाई इन्टरनेट सेवा प्रदान गरिएको छ। स्टारलिङ्कले गत वर्ष चार अर्ब ४० करोड डलर सञ्चालन आम्दानी गरेको प्रोस्पेक्टसमा उल्लेख छ।

यद्यपि कम्पनीका सबै परियोजना सफल भने छैनन्। हालै स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म एक्स र कृत्रिम बौद्धिकता कम्पनी एक्सएआई अधिग्रहण गरेको थियो। यी दुवै कम्पनी घाटामा रहेकाले केही लगानीकर्ताले उक्त निर्णयलाई ‘बेलआउट’ भन्दै आलोचना गरेका छन्। प्रोस्पेक्टसअनुसार एआई व्यवसायले मात्रै गत वर्ष छ अर्ब ४० करोड डलर सञ्चालन घाटा व्यहोरेको थियो।

स्पेसएक्सको मुख्य रकेट तथा प्रक्षेपण व्यवसाय अमेरिकी सरकारी सम्झौतामा ठूलो मात्रामा निर्भर रहेको पनि खुलासा भएको छ। गत वर्ष कम्पनीको कुल राजस्वको करिब पाँचौँ भाग अमेरिकी सङ्घीय सरकारबाट आएको थियो। नासा, अमेरिकी रक्षा मन्त्रालय तथा अन्य सरकारी निकायबाट पछिल्ला पाँच वर्षमा स्पेसएक्सले छ अर्ब डलरभन्दा बढीका सम्झौता प्राप्त गरेको उल्लेख गरिएको छ।

यसले एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमाथि पनि पुनः बहस सुरु गरेको छ। मस्क ट्रम्पको चुनाव अभियानका प्रमुख दातामध्ये एक थिए भने सरकारी खर्च कटौती अभियानसँग पनि जोडिएका थिए। सरकारी नैतिकता निगरानी समूहहरूले मस्कले सरकारी ठेक्कामा विशेष सुविधा पाएको हो कि भन्ने प्रश्न उठाउँदै आएका छन्।

प्रोस्पेक्टसमा मस्कको पारिश्रमिक संरचना पनि सार्वजनिक गरिएको छ। सन् २०२५ मा उनको आधारभूत वार्षिक तलब ५४ हजार ८० डलर मात्रै रहेको उल्लेख छ। तर मुख्य लाभ भने स्टक अनुदानसँग जोडिएको छ। कम्पनीले करिब समान आकारका १५ वटा स्टक अनुदान प्याकेज उपलब्ध गराउने योजना बनाएको छ, जसअन्तर्गत प्रत्येक प्याकेजमा छ करोड ७० लाख सेयर रहनेछन्।

मस्कले पूर्ण स्टक पुरस्कार प्राप्त गर्न स्पेसएक्सको बजार मूल्य ७५ खर्ब डलरसम्म पुग्नुपर्ने शर्त राखिएको छ। साथै अन्तरिक्षमा फुटबल मैदानजत्रा विशाल डाटा सेन्टर निर्माण गर्न कम्पनी सफल भए थप स्टक पुरस्कार पाउने व्यवस्था पनि गरिएको छ।

कम्पनीको नियन्त्रण संरचनाले पनि लगानीकर्ताको ध्यान तानेको छ। प्रोस्पेक्टसअनुसार मस्क र केही प्रमुख सेयरधनीले विशेष श्रेणीका सेयर पाउनेछन्, जसले प्रत्येक सेयरमा १० मताधिकार दिनेछ। यसले कम्पनीको सञ्चालक समिति चयनमा उनीहरूको निर्णायक प्रभाव कायम रहनेछ।

स्पेसएक्सले सम्भावित लगानीकर्तालाई चेतावनी दिँदै यस्तो संरचनाले कर्पोरेट निर्णय र सञ्चालक निर्वाचनमा सामान्य लगानीकर्ताको प्रभाव सीमित हुन सक्ने जनाएको छ।

वाल स्ट्रिटमा ‘रोड शो’ भनिने लगानीकर्ता प्रस्तुति कार्यक्रम प्रोस्पेक्टस सार्वजनिक भएको १५ दिनपछि सुरु हुन सक्नेछ। हालको समयरेखाअनुसार उक्त प्रक्रिया जुन ४ देखि सुरु हुने अपेक्षा गरिएको छ।


Read Previous

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा ३२ जनाको आवेदन

Read Next

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar