Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै


काठमाडौं । प्रदेश-१ को ताप्लेजुङस्थित मेवाखोलामा ३१.९२ मेगावाटको माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । मेवाखोलाको बायाँ किनारमा संरचना रहने गरी सूर्य होल्डिङ कम्पनीले यो आयोजना निर्माण गर्न लागेको हो ।

विद्युत विकास विभागले आयोजनाको उत्पादन अनुमितपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विभागले प्रवर्द्धक कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरी सरोकारवालासँग लिखित राय/सुझाव मागेको छ ।

कम्पनीले विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली, २०५० को नियम १२ मा भएको व्यवस्था बमोजिम उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएकाले नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले सूचना जारी गरी आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा अबको ३५ दिनभित्र प्राप्त हुने गरी लिखित सुभाव पेश गर्न सरोकारवाला समक्ष आग्रह गरेको छ ।

मेवाखोलाको बायाँ किनारमा आयोजनाको संरचना निर्माण गरी नदीको बहावमा आधारित यो आयोजनाबाट विद्युत उत्पादन गरिने प्रवर्द्धक कम्पनीले जनाएको छ । विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन २७ मिटर लम्बाईको बाँध निर्माण गरिनेछ ।

आयोजनामा २.५९७ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ । ४१.५ मिटर लम्बाई, १०.४ मिटर चौडाइ र १९ मिटर उचाई भएको भूमिगत विद्युतगृह रहने गरी आयोजनाको डिजाइन तयार गरिएको छ ।

विद्युतगृहमा ११.२ मेगावाटका ३ वटा उत्पादन युनिट रहनेछन् । १२.६८ एमभिएका थ्रीफेज जेनेरेटरमार्फत ३१.९२ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट १३२ केभी प्रसारण लाइनमार्फत ३० किलोमिटर दुरीमा रहने २२०/१३२ केभी ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ । यो आयोजना २०८३ साल मंसिरभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका छ ।

यो सबस्टेसनमा जोड्न सम्भव नभएको अवस्थामा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत निर्माण प्रस्ताव गरिएको पापुङ्ग सबस्टेसनमा पनि जोड्ने विकल्प राखिएको छ । विद्युतगृहदेखि यो सबस्टेसनको दुरी ३ किलोमिटर मात्रै छ ।


Read Previous

नाेराडका महानिर्देशकद्वारा केयुकाे भ्रमण

Read Next

तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम

Leave a Reply

Your email address will not be published.