Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम


कुसुमटार (सिन्धुली) । ‘३० वर्षपछिको सपना बल्ल पूरा हुने भयो, अब टनेल बोरिङ मेशिन (टिबीएम) ले आयोजना बनाउँछ, म ढुक्क भएँ ।’ याे सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरुवात गरे लगत्तै पूर्व जलस्रोत सचिव एवं विज्ञ भुवनेशकुमार प्रधानको पहिलो प्रतिकृया थियो ।

३० वर्ष अघि अर्थात सन् १९९२ देखि १९९७ सम्मको राष्ट्रिय योजना आयोगको आठौं पञ्चवर्षिय योजनामै सुनकोशी कमला सिँचाइ आयोजनाबाट पूर्वाञ्चल तथा मध्यमाञ्चल विकास क्षेत्रका सिरहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही र महोत्तरी जिल्लाकाे १ लाख ७५ हजार हेक्टर खेती याेग्य भूमिमा सिँञ्चाइ सुविधाका लागि आवश्यक प्रारुप तयार गर्न अध्ययन अघि बढाएर कार्यान्वयन गरिने उल्लेख थियो ।

त्यही बेला अन्तर वेसिन सिँञ्चाइ आयोजनाको परिकल्पना गरिएको थियो । जलस्रोत विभागका पूर्व महानिर्देशक प्रधान त्यतिबेला योजना आयोगका सदस्य–सचिव थिए । अहिले आयोजनाको नाम सुनकोशी–मरिन भएको छ । ‘हामीले त्यो बेला परिकल्पना गरिएको सिँञ्चाइ आयोजना अब पूरा हुन्छ, यसले तराईका धेरै जिल्लामा सिँञ्चाइमार्फत ठूलो योगदान पुर्याउँछ ।’

ठूलो चासोका साथ सुरुङ गर्ने कार्यको शुभारम्भमा गत शुक्रबार सिन्धुलीको कुसुमटार पुगेका ८६ वर्षिय प्रधानले भने । ३० वर्षअघि परिकल्पना गरिएकाे आयोजना निर्माणकाे सपना अहिले साकार हुने चरणमा पुगेकाे छ । सरकारले राष्ट्रिय गौरव तथा मुलुकका लागि रुपान्तरणकारी आयोजनाको रूपमा सुनकोशी–मरिन डाइभर्सनलाई घोषणा गरेको छ ।

भुवनेशकुमार प्रधान, पूर्व जलस्रोत सचिव एवं विज्ञ

‘हामीले त्यो बेला परिकल्पना गरिएको सिँञ्चाइ आयोजना अब पूरा हुन्छ, यसले तराईका धेरै जिल्लामा सिँञ्चाइमार्फत ठूलो योगदान पुर्याउँछ ।’

ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालय अन्तर्गत सिँञ्चाई विभागका महानिर्देशक सुशील आचार्य सुनकोशी–मरिन आयोजनाको सुरुङ खन्न सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको बताउँछन् । ‘टीबीएममार्फत नेपालको खाद्य सुरक्षाको महत्वपूर्ण योगदान पुर्याउने आयोजना सुरु हुनु भनेको एउटा ठूलो गौरवको विषय हो, यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’ उनी भन्छन् ।

२०७७ साल फागुनमा शिलान्याश गरिएको आयोजनाको सुरुङ खन्ने काम बल्ल सुरु भएको हो । अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएमबाट १३.३ किलोमिटर सुरुङ निर्माण हुँदैछ । नेपालमा टिबीएममार्फत सुरुङ बनाएको यो दोस्रो हो । यस अघि भेरी बबई बहुउद्देश्यीय आयोजनामा टिबीएममार्फत सुरुङ निर्माण गरिएको थियो । तर, भेरी बबईकाे सुरुङ ४.६ मिटर ब्यास (डायमिटर) काे मात्र रहेकोमा सुनकोशीकाे सुरुङ ५.५ मिटर ब्यास भएकाे छ ।

याे आयोजना सुनकोसी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछापको सीमा भएर बग्ने सुनकोसी नदीमा डाइभर्सन संरचना निर्माण गरी सुनकोसी नदीको ६७ क्यूमेक पानी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदीमा खसाली अहिले सञ्चालनमा रहेको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत मध्य तराईका जिल्लामा सिँचाइ सुविधा पुर्याइने लक्ष्य राखिएको आयोजना निर्देशक मित्र बरालले जानकारी दिए । उनका अनुसार ५.५ मिटर ब्यास तथा ६५ मिटर उचाई भएको सुरुङ टिबीएमले खन्नेछ ।

सुशील आचार्य, सिँञ्चाई विभागका महानिर्देशक

‘टीबीएममार्फत नेपालको खाद्य सुरक्षाको महत्वपूर्ण योगदान पुर्याउने आयोजना सुरु हुनु भनेको एउटा ठूलो गौरवको विषय हो, यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’

‘४ वर्ष ७ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरुङ निर्माणको कार्य भने २२ महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।’ उनले भने । आर्थिक वर्ष २०७३/०७४ बाट निर्माण सुरु गरेर २०८०/०८१ मा पूरा गर्ने लक्ष्य राखिएको भएपनि भेरी–बबई सिँञ्चाइमा टिबीएममार्फत सुरुङ निर्माणका लागि प्रकृया अघि बढाइएको थियो ।

यसका लागि २० मे २०२१ मा सुरुङ निर्माणका लागि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) सँग समझदारी भएको थियो । कोभेकले सुरुङको निर्माण कार्य गर्नेछ । तर, टिबीएमको उत्पादक कम्पनी रोबिन्सको प्रत्यक्ष संलग्नतामा सुरुको पाँच सय मिटर र बाँकी काममा सहजीकरण गर्नेछ । रोबिन्सका अपरेसनतर्फका उपसभापति स्टेभ चोर्लीले सुरुङ निर्माण अवधिभर निर्माण कम्पनीलाई सहजीकरण र सहयोग गर्ने बताए ।

मित्र बराल, आयोजना निर्देशक

‘४ वर्ष ७ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरुङ निर्माणको कार्य भने २२ महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।’

 

‘सुरुङ निर्माणको क्रममा हामी पूरै अवधि निर्माण कम्पनीलाई सहयोग गर्न तयार छौ ।’, उनले भने ।  जलविद्युत आयोजनाका लागि आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र प्रसारण लाइन लगायत संरचना बन्नेछन् । कूल ४६ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले जनाएको छ ।

‘धनमना’ सुरुङको लागि जोखिम क्षेत्र

सुरुङ निर्माणको क्रममा चार किलोमिटर दुरीमा रहेको धनमनालाई जोखिम क्षेत्रको रूपमा आयोजनाले पहिचान गरेको छ । चुरे र महाभारत छुट्याउने सो क्षेत्रको रक (ढुंगा) का कारण यस्तो अनुमान गरिएको हो । चुरे र महाभारतको रक फरक–फरक भएकोले यो क्षेत्रलाई अहिले जोखिममा लिइएको तर, धेरै अध्ययनले सफल हुन सक्ने अवस्था भने देखिएको आयोजना निर्देशक बराल बताउँछन् । ‘भित्रको अवस्था के छ त भन्न सकिदैन । तर, यो जोखिम क्षेत्रमा सजिलै पार गर्छौ भन्ने अनुमान भने छ ।’ उनी भन्छन् ।

सुरक्षाकर्मीको पनि समस्या

सुरुङ निर्माण कार्य सुरु गरेपनि हालसम्म यस आयोजनाका लागि डेडिकेटेड सुरक्षाकर्मीको व्यवस्था हुन सकेको छैन । बिगत लामो समयदेखि यसका लागि मन्त्रालयले पहल गरेपनि हाल चुनावको कारण देखाउँदै व्यवस्थापन गर्न सकिएको छैन । सुरुङ निर्माण सुरु भएको समयमा निरीक्षणका लागि पुगेको ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्री पम्फा भुसाल, सचिव सागर राई तथा सिन्धुली जिल्लाका सुरक्षा निकायबीच सुरक्षाकाे विषयमा छलफल पनि भएको थियो ।

स्टेभ चोर्ली, उपसभापति, अपरेसन, रोबिन्स

‘सुरुङ निर्माणको क्रममा हामी पूरै अवधि निर्माण कम्पनीलाई सहयोग गर्न तयार छौ ।’

चुनावका लागि परिचालित सुरक्षाकर्मीको क्याम्प नै आयोजना स्थलममा राखेर तत्कालका लागि व्यवस्थापन गर्न आयोजना व्यवस्थापन पक्षले सिन्धुलीका सुरक्षा निकायका प्रतिनीधिहरूलाई अनुरोध समेत गरेको थियो । छलफलमा आयोजनाका अधिकारीहरूले काम सुरु भइसकेपछि कुनै अवरोध आएमा र यसमा सुरक्षा दिन नसकी काम बन्द गर्नुपरेमा निर्माण कम्पनीलाई ठूलो रकम बुझाउनुपर्ने बताउँदै यसको व्यवस्थापन गर्न अनुरोध समेत गर्दै आएका छन् ।

राजमार्ग नै बन्द गरेर मरिनमा टिबीएम

सन् २०२१ काे  १९ मार्चमा कोभेकलाई ठेक्का दिए लगत्तै आयोजनाका लागि १५ नोभेम्बर २०२१ बाट टिबीएम निर्माण कार्य सुरु भएको थियो । २२ जुलाई २०२२ मा टिबीएम प्लेटफर्म तयार भएको थियो । नेपालसम्म टिबीएम आउनका लागि ६ महिना लागेको आयोजनाले जनाएको छ ।

आयोजना निर्देशक बरालका अनुसार, भेरी–बबईमा रहेको टिबीएमका केही भाग ल्याइएको थियो । कटर हेडको डायमिटरनै परिवर्तन भएकोले रोबिन्सले रि इन्जिनियरिङ र रिडिजाइन गरेर टिबीएम नेपाल ल्याइएको हाे । ‘जम्मा डायमिटर ५.५ भए पनि कटर हेडको आकार ६.४ मिटर भएकोले चीनबाट पानी जहाजमार्फत कलकत्ता ल्याएपछि नेपालको भन्सारसम्म आइपुग्न २ महिना लागेको थियो ।’ उनले भने, ‘कोभिड–१९ का कारण केही ढिलाई भएपनि एक वर्षको अवधिमा टिबीएमको प्लेटफर्म नेपाल ल्याएर खन्ने कार्य सुरु गरेका थियौ ।’

कलकत्ताबाट गाडीमार्फत ल्याइएको टिबीएम वीरगञ्जदेखि हेटौडासम्म रातको समयमा राजमार्ग नै बन्द गरेर ल्याइएको आयोजना निर्देशक बराल बताउँछन् । उनका अनुसार, भारतमा समेत टोल सडकबाट ल्याउँदा गेटबाट नछिरेपछि ३ वटा गेटनै भत्काउनु परेको थियो  ।  ती गेट पुर्ननिर्माण समेत गर्नु परेको थियो । हेटौंडादेखि कुसुमटारसम्म भने मदन भण्डारी राजमार्गकाे प्रयाेग गरिएकाे थियाे ।  बाग्मतीमा गत वर्ष पुल बनेका कारण टिबीएम ढुवानी सहज भएको थियो ।

जलविद्युत निर्माणमा भने २ वर्ष ढिला

२२ महिनामा सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि जलविद्युत आयोजना निर्माणमा भने थप दुई वर्ष ढिला हुने भएको छ । पहिलो पटक टिबीएममार्फत भेरी–बबई बहुउद्देश्यीय आयोजनाको निर्माण २०७६ सालको बैशाखमै पूरा भएपनि हालसम्म आयोजना नबन्दा सिँञ्चाईको लाभ किसानले लिन सकेका छैनन् । यस्तै समस्या सुनकोशी–मरिनमा पनि आउन नदिने कुरा बारम्बार उठेको थियो । आयोजना निर्देशक बराल भेरी–बबईबाट पाठ सिकेर जिओलोजीको थप अध्ययन गरी बाँध निर्माणका लागि प्रकृया अघि बढाइएको बताउँछन् ।

पम्फा भुषाल, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री

‘भेरी–बबईबाट पाठ सिकेर सुरुङ र जलविद्युत आयोजनाको निर्माण कार्य सँगसँगै अघि बढाउन धेरै प्रयास गर्यौं । तर, वित्तीय व्यवस्थापन गर्न केही ढिलाइ भयो, अहिले सुनिश्चित भएको छ, यसलाई पनि उपलब्ध मान्नुपर्छ ।’

आयोजनाका अनुसार, वित्तीय व्यवस्थापनमा केही समय ढिला हुँदा समस्या परेपनि अहिले परामर्शदाता नियुक्त भइसकेको छ । बाँध, विद्युतगृह लगायतका संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी यसका लागि प्रारम्भिक रूपमा ९ कम्पनी छनोट समेत भैसकेका छन् । ‘भेरी–बबईबाट पाठ सिकेर सुरुङ र जलविद्युत आयोजनाको निर्माण कार्य सँगसँगै अघि बढाउन धेरै प्रयास गर्यौं । तर, वित्तीय व्यवस्थापन गर्न केही ढिलाइ भयो, अहिले सुनिश्चित भएको छ, यसलाई पनि उपलब्ध मान्नुपर्छ ।’ ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषालले भनिन् ।

वार्षिक २६ अर्ब रुपैयाँकाे कृषिजन्य लाभ, १ लाख २२ हजार हेक्टरमा सिँञ्चाइ सुविधा

आयोजना सम्पन्न भएपछि बाग्मती सिँञ्चाइ योजनाको सिंचित क्षेत्रसहित बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टर खेतीयाेग्य भूमिमा सिँञ्चाइ पुर्याउँनेछ । आयोजनाबाट ३१.०७ मेगावाट विद्युत उत्पादन हुनेछ । अध्ययन अनुसार, आयोजनाबाट तराईका पाँच जिल्लामा भरपर्दो सिँञ्चाइ सुविधा उपलब्ध हुँदा वार्षिक २६ अर्ब रुपैयाँ कृषिजन्य लाभ हुनेछ ।

वार्षिक २४८ गिगिवाट घन्टा विद्युत उत्पादन हुँदा वार्षिक १ अर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन हुनेछ । ऊर्जा मन्त्रीको भनाई अनुसार सुनकोशी–मरिन ऊर्जा र खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण आयोजना हो । ‘ प्रविधिको क्रान्तिको रूपमा लिइने टिबीएममार्फत निर्माण गरिने आयोजना नेपालको खाद्य र ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण आयोजना हो ।’ मन्त्री भुसालले भनिन् ।

माझी समुदायलाई कृषि जग्गा

आयोजना निर्माणका क्रममा स्थानीय आदिवासी माझी समुदायलाई पुनर्वास गर्नु परेकाे छ । प्रभावित क्षेत्रबाट उनीहरूलाई हात्तीटारमा जग्गा व्यवस्थापन गरी पुनर्वास गराइएकाे छ । खेती डुबानमा पर्ने भएपछि पुनर्वास गरिएका उनीहरूलाई हात्तीटारमा खेतीबाली लगाउने जग्गा उपलब्ध गराई कृषि पेशालाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ ।


Read Previous

सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै

Read Next

विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना

Leave a Reply

Your email address will not be published.