Nepal Purbadhar

जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ-फोटो फिचर्स्


काठमाडौं। काठमाडौंबाट धेरै टाढा नभए पनि प्रकृतिको अनुपम सौन्दर्य, हिमाली संस्कृति र रोमाञ्चक पदयात्राको अनुभव एकै ठाउँमा लिन चाहनेका लागि हेलम्बु उत्कृष्ट गन्तव्य बन्दै गएको छ। पछिल्लो समय चर्चामा आएको हेलम्बु हिमालयन ग्रेट ट्रेल र नयाँ पर्यटकीय गन्तव्य छ्यादी घ्याङ ले स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गरिरहेको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने यो क्षेत्र प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। ठाउँ–ठाउँमा रहेका बौद्ध चैत्य, हरियाली जंगल, हिमाली हावा, मनोरम हिमशृङ्खला र शान्त वातावरणले यात्रुलाई हरेक पाइला नयाँ अनुभूतितर्फ डोर्‍याउँछ।

हामी जेठ महिनाको अन्तिम साता हेलम्बु गाउँपालिकाको पहलमा पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत काठमाडौंबाट मेलम्ची हुँदै छ्यादी घ्याङतर्फ लाग्यौं। हालसम्म करिब सात किलोमिटर निर्माण भएको हेलम्बु हिमालयन ग्रेट ट्रेलमा हिँड्दा प्रकृतिसँगको निकटता महसुस गर्न सकिन्थ्यो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

सुरुआती बाटो सहज भए पनि केही समयपछि उकालो जंगल सुरु हुन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र घना वनले ढाकिएको छ। बाटोभरि विभिन्न प्रजातिका रंगीबिरंगी जंगली फूल, डाँडापाखामा फुलेका लालीगुराँस र हिमाली वनस्पतिले यात्रालाई थप आकर्षक बनाउँछन्। चराको चिरबिर, चिसो हावा र वनको सुगन्धले थकान बिर्साइदिन्छ। यहाँको पदयात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन, प्रकृतिसँग संवाद गर्ने अवसर पनि हो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

यात्राको क्रममा सागबारी पुग्दा अचानक परेको पानी र असिनाले केहीबेर कठिनाइ थपे पनि त्यसले हिमाली यात्राको वास्तविक स्वाद चखायो। करिब नौ घण्टाको पदयात्रापछि हामी ठारेपाटी पुग्यौं। यहाँ पर्यटकका लागि व्यवस्थित होटल तथा बासको सुविधा उपलब्ध रहेछ। यही स्थान गोसाइँकुण्ड जाने प्रमुख पदमार्गमध्ये एक भएकाले वर्षभरि नै पदयात्रीको आवागमन भइरहन्छ।

ठारेपाटीबाट थप करिब दुई घण्टाको यात्रा गरेपछि समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको छ्यादी घ्याङ पुगिन्छ। यो क्षेत्र पछिल्लो समय हेलम्बुको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदै गएको छ।

छ्यादी घ्याङको महत्वलाई उजागर गर्न हेलम्बु गाउँपालिकाले २०८३ जेठ २४ गते यही क्षेत्रको फेदीमा कार्यपालिका बैठकसमेत आयोजना गरेको थियो। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा विस्तृत छलफल भएको थियो। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासलाई प्राथमिकता दिने नीतिगत निर्णय पनि बैठकले गरेको उनले बताए।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

अध्यक्ष शेर्पाका अनुसार हेलम्बुमा अझै धेरै प्राकृतिक तथा सांस्कृतिक गन्तव्य छन्, जसको उचित संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटनलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिन्छ।

हेलम्बुको यात्रा केवल हिमाल हेर्ने यात्रा मात्र होइन। यहाँ प्रकृतिसँग लुकामारी गर्दै स्थानीय संस्कृति, बौद्ध परम्परा, हिमाली जीवनशैली र शान्त वातावरणसँग साक्षात्कार गर्ने अवसर मिल्छ। दैनिक जीवनको व्यस्तताबाट केही समय टाढा भएर प्रकृतिको काखमा ऊर्जा संकलन गर्न चाहनेका लागि हेलम्बु र छ्यादी घ्याङ निस्सन्देह नेपालको उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक बन्दै गइरहेको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

तस्बिर: नेपाल फोटो लाइब्रेरी
तस्बिर: नेपाल फोटो लाइब्रेरी


Read Previous

रास्वपाको सहमहामन्त्रीमा निशा डाँगी विजयी

Read Next

काठमाडौँ उपत्यका सहित देशभर बर्डफ्लु संक्रमण बढ्दो, ११ जिल्लाका ८२ स्थान प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar