
काठमाडौं। मिटरब्याज पीडितहरूले सरकारसँग भएका सहमति कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले सुरु गरेको जनकपुर-काठमाडौं पैदल ‘न्याय मार्च’ दोस्रो दिन धनुषाको ढल्केबर पुगेको छ।
किसान-मजदुर आन्दोलन, नेपालको आयोजनामा बिहीबार जनकपुरधामबाट सुरु भएको मार्चमा सहभागी पीडितहरू शुक्रबार बिहान ढल्केबर आइपुगेका हुन्। उनीहरू बिहीबार जनकपुरधामस्थित तिरहुतियागाछीबाट औपचारिक कार्यक्रमपछि साँझ ५ बजे काठमाडौंतर्फ पैदल हिँडेका थिए।

मार्चमा सहभागीहरू शुक्रबार धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अघि बढिरहेका छन्। उनीहरू करिब एक साताको पैदल यात्रापछि काठमाडौं पुग्ने लक्ष्यमा छन्।
आन्दोलनकारीका अनुसार सरकारले मिटरब्याज पीडितसँग यसअघि चार पटक सहमति गरे पनि ती सहमति कार्यान्वयन नभएकाले पुनः दबाब सिर्जना गर्न काठमाडौंसम्म पैदल मार्च गर्नुपरेको हो।
उनीहरूले मिटरब्याज पीडितलाई न्याय दिलाउन, सहमति कार्यान्वयन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
