Nepal Purbadhar

सम्पदा क्षेत्रको सौन्दर्यकरण: इन्द्रचोकदेखि विशाल बजारसम्म परम्परागत शैलीका सडकबत्ती जडान


काठमाडौं। काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको संरक्षण र शहरी सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ।

महानगरका अनुसार नयाँ सडक क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्न सडकबत्ती जडान गरिएको हो।

साँझ परेपछि बल्ने परम्परागत शैलीका सडकबत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्मको व्यापारिक तथा पर्यटकीय क्षेत्रको आकर्षण बढाएको छ। न्यानो प्रकाशले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्यलाई थप निखार दिएको स्थानीयवासीको भनाइ छ।

सडकबत्ती जडानपछि स्थानीय व्यवसायी, सर्वसाधारण तथा आन्तरिक एवं बाह्य पर्यटकहरूले नयाँ सडक क्षेत्रको बदलिएको स्वरूपप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। रातिको समयमा क्षेत्र थप सुरक्षित, उज्यालो र व्यवस्थित बनेपछि पैदलयात्रा र पर्यटकीय गतिविधि पनि सहज भएको उनीहरूको अनुभव छ।

महानगरले सम्पदा क्षेत्रको मौलिक स्वरूप संरक्षण गर्दै आधुनिक शहरी सुविधाको विस्तार गर्ने नीति अनुरूप यस्तो पूर्वाधार विकासलाई निरन्तरता दिइरहेको जनाएको छ। महानगरको यो पहलले सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार प्रवर्द्धन तथा काठमाडौंको शहरी सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का रद्द प्रक्रिया शुरू

Read Next

अब झ्याप-झ्याप जानेछैन बिजुली, ११ हजार भोल्ट लाइन चालु अवस्थामै मर्मत गर्न मिल्ने प्रविधि शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar