Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै


काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रको लगानीमा अगाडि बढेका २ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणसँग हुने विद्युत खरिद सम्झौता (पिपिए) सहमतिका लागि २५५ मेगावाटको माथिल्लो तमोर र १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सानिमा समूह अन्तर्गतको तमोर सानीमा इनर्जी कम्पनीले प्रवर्द्धन गर्ने माथिल्लो तमोर जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई बिहीबारका लागि तय भएको आयोगले जानकारी दिएको छ । विद्युत विकास विभागको सानो गौचरणस्थित भवनको पाँचौं तलामा रहेको आयोग कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको छ ।

आयोगका अनुसार बिहीबार दिउँसो २ देखि साँझ ५ बजेसम्मका लागि तय भएको सार्वजनिक सुनुवाई कार्यक्रममा यो आयोजनाको पिपिए दर निर्धारण तथा पिपिएमा सहमतिको लागि पेश भएको निवेदन उपर छलफलका हुनेछ । छलफलका लागि उपभोक्ता, उद्याेगी, व्यवसायी, स्थानीयबासी, प्रतिनिधिमुलक संस्था तथा स्थानीय जनप्रतिनिधिसहित सम्बन्धित सरोकारवाला सबैलाई बोलाइएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार सम्बन्धित सरोकारवालाले कार्यालयमा प्राप्त हुने गरी तथा इमेलमार्फत पनि लिखित राय/सुझाव दिन सक्नेछन् । यस्तै, गण्डकी प्रदेशको कालीगण्डकी नदीमा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी गर्ज आयोजनाको पनि सार्वजनिक सुनुवाई हुँदैछ ।

कालीगण्डकी गर्ज हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम आगामी शुक्रबार (भदौ ३१ गते) हुने तय भएको आयोगले जनाएको छ ।

दिउँदो १ देखि अपरान्ह ४ बजेसम्म सार्वजनिक सुनुवाई हुने हुँदा सम्बिन्धित सबै सरोकारवालालाई उपस्थितिका लागि आयोगले आग्रह गरेको छ । विद्युत प्राधिकरणले यी आयोजनाको पिपिए दर निर्धारण तथा पिपिए सहमतिको प्रस्ताव स्वीकृतिका लागि आयोगमा पेश गरेको थियो । यी दुवै  आयोजना  अध्ययन पूरा भई निर्माणमा जाने तयारी अवस्थामा छन् ।


Read Previous

मनास्लु हिमाल चढ्ने आकर्षण, आरोहण अनुमति लिनको संख्या साढे ४ सय नाघ्यो

Read Next

विकासित देशले एमोनिया तथा हाइड्रोजन उत्पादन योजनामा सघाउनुपर्ने अर्थमन्त्रीको भनाइ

Leave a Reply

Your email address will not be published.