काठमाडौ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द गरिएको छ । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो ।
ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पहिरोले मध्यमर्स्याङदी–मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुर्नस्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।
अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार अस्थायी सञ्चालनका लागि निर्माण गरिएको इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । नयाँ तार जडानपछि भने यो लाइन सञ्चालनमा आउनेछ ।
१५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने जनाएको छ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुनेछ । शुक्रबार करिब साढे २ सय मेगावाट हाराहारीमा विद्युत निर्यात हुनेछ ।