Skip to main content

Nepal Purbadhar

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढीको कारोबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्रको खपतपछि बचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा बिक्री गरी उक्त आम्दानी गरेको हो ।

प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्यांकअनुसार चार महिनाको अवधिमा कुल २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् निर्यात भएको छ । यसबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

चार महिनामध्ये असोजमा सबैभन्दा बढी विद्युत् निर्यात भएको छ । उक्त महिनामा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो । असोजमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा पुगेको थियो ।

त्यस्तै, साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ आम्दानी भएको थियो । उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ १५ पैसा थियो ।

भदौमा ५७ करोड ८७ लाख युनिट विद्युत् निर्यातबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ प्राप्त भएको थियो । यस महिनामा प्रतियुनिट औसत बिक्री दर ९ रुपैयाँ ४ पैसा रहेको थियो ।

कात्तिकमा भने ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात भएको छ । यसबाट प्राधिकरणले ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । कात्तिकमा औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसामा झरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । यसका अतिरिक्त द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् निर्यात भइरहेको छ ।

त्यस्तै, नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा पनि विद्युत् बिक्री हुँदै आएको छ । वर्षायामका छ महिना अर्थात् प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुगेकाले निर्यात प्रभावित भएको बताएका छन् । बाढीका कारण केही आयोजनाको उत्पादन बन्द हुँदा अपेक्षित परिमाणमा विद्युत् निर्यात हुन नसकेको उनको भनाइ छ ।

निर्यातका लागि स्वीकृति पाइसकेका केही आयोजनामा समेत बाढीबाट क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उनले बताएका छन् ।

गत वर्ष २९ अर्ब ३१ करोडको विद्युत् निर्यात

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

यसरी गत आर्थिक वर्षमा विद्युत् आयातमा भएको खर्चभन्दा निर्यातबाट भएको आम्दानी १८ अर्ब ७५ करोड रुपैयाँ बढी थियो । पछिल्ला दुई वर्षदेखि नेपाल विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता मुलुकका रूपमा स्थापित हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामै २० अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात हुनुले नेपालको विद्युत् व्यापारमा निर्यातको हिस्सा थप महत्वपूर्ण बन्दै गएको देखाएको छ । यद्यपि, बाढी तथा प्राकृतिक विपद्का कारण उत्पादन र प्रसारण संरचनामा हुने क्षतिले निर्यात क्षमतामा प्रत्यक्ष असर पार्ने चुनौती पनि देखिएको छ ।


Read Previous

तुइनखोला पहिरो रोकथाम थालिँदै, आजदेखि दिउँसो आवागमन दैनिक ५ घण्टा बन्द हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar