
काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।
श्रेष्ठले बिहीबार (मंसिर ३ गते) देखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि उक्त जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेतको सरुवा भएपछि श्रेष्ठले नयाँ जिम्मेवारी पाएका हुन् । बस्नेतलाई प्रधानसेनापतिको सैनिक सहायकका रूपमा सरुवा गरिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सेनाका गतिविधि, निर्णय तथा संस्थागत सूचनालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएको छ ।


