
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाह र प्रशासनिक कार्यसम्पादन सुधार गर्न बिहीबार विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालयका विभिन्न शाखामा पुगेर भइरहेका कामकारबाही, कार्यप्रगति र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए। उनले कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती र गुनासोसमेत सुनेका थिए।

मन्त्री श्रेष्ठले मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। उनले महत्वपूर्ण कागजात तथा दस्तावेज व्यवस्थित राख्न, अभिलेख व्यवस्थापन चुस्त बनाउन र कार्यालयको भौतिक संरचनाको मर्मतसम्भार तथा सौन्दर्यकरणमा ध्यान दिन निर्देशन दिएका हुन्।
त्यसैगरी, उनले सेवाग्राहीबाट प्राप्त जनगुनासो, त्यसको सम्बोधनका लागि भएका प्रयास र आगामी दिनमा मन्त्रालयले अघि बढाउनुपर्ने कार्ययोजनाबारे पनि जानकारी लिएका थिए।
मन्त्रालयको कामकारबाहीलाई परिणाममुखी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने तथा प्रशासनिक कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले मन्त्री श्रेष्ठले अनुगमनलाई प्राथमिकता दिएका छन्।

