Nepal Purbadhar

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’-तस्बिरहरू


काठमाडौं, २ मंसिर। काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सबैभन्दा लामो सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङ छिचोल्ने कार्यको उद्घाटन गरेका हुन्।

महादेवटार क्षेत्रमा समानान्तर रूपमा निर्माण भइरहेका दुई ओटा सुरुङमध्ये ३.४४५ किलोमिटर लामो दायाँ सुरुङ छिचोलिएको हो। यसअघि ३.४८६ किलोमिटर लामो बायाँ सुरुङ गत भदौमा नै छिचोलिएको थियो। यो सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङमार्ग हो।

ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले काठमाडौं-तराई/मधेस द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि महत्वपूर्ण आयोजना भएको बताए। उनले द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको प्रशंसासमेत गरे।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको निर्माण निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ७०.९७७ किलोमिटर लामो द्रुतमार्गको समग्र भौतिक प्रगति हालसम्म ५०.५४ प्रतिशत पुगेको छ। आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। त्यसमध्ये हालसम्म ९५ अर्ब १७ करोड रुपैयाँ खर्च भइसकेको छ।

द्रुतमार्गअन्तर्गत ७ ओटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि लेनडाँडा र धेद्रे सुरुङको ब्रेक थ्रु सम्पन्न भइसकेको छ। महादेवटार सुरुङको ब्रेक थ्रुसँगै आयोजनाको सुरुङ निर्माण कार्यले थप गति लिएको छ।

करिब ७१ किलोमिटर लामो यो आयोजना २०८६ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना पूरा भएपछि काठमाडौं र तराई/मधेसबीचको दूरी तथा यात्रा समय घट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।

तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी


Read Previous

पूर्वमन्त्री सुमना श्रेष्ठ काठमाडौं महानगरमा मेयर उठ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar