
काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित भएको छ। अन्तिम नामावलीअनुसार निर्वाचनमा सात हजार ११४ प्रतिनिधि सहभागी हुने भएका छन्।
कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदाताको अन्तिम नामावली प्रकाशित गरिएको हो। अन्तिम नामावली प्रकाशनसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया थप अगाडि बढेको छ।
निर्वाचन समितिका अनुसार मतदाता नामावलीमाथि दाबी विरोधका लागि बिहान ९ः३० बजेसम्मको समय तोकिएको थियो। त्यसपछि बिहान ९ः३० देखि १०ः३० बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका तय गरिएको थियो।
त्यसैगरी उम्मेदवार मनोनयन दर्ताका लागि फारम वितरण तथा दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको सोमबार बसेको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको थियो। संशोधित विधानअनुसार अब कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ।
महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन
कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूको सहजताका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य तथा स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिलाई आवश्यक सहयोग र व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको हो।
बन्दसत्र सञ्चालन हुने स्थान र निर्वाचन हुने स्थानमा स्वयंसेवक खटाइएको उनले बताए।
कांग्रेसका अनुसार महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब सात हजार ५०० प्रतिनिधि काठमाडौं आएका छन्।
आइतबारदेखि सुरू भएको महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन हुने तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।
बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्।

