
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्पछि बाढीपहिरोले क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड मर्मत तीव्र पारिएको छ।
पर्वतको कुश्मा नगरपालिका-१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरुद्ध भएको थियो। तीमध्ये १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरी बगाएको तथा भत्काएको छ।
बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडक आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी मर्मत भइरहेको छ।
उनका अनुसार वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग-तातोपानीसम्मको सडक दुई दिनमै मर्मत गरिएको थियो। मालढुङ्गातर्फबाट बेनी-बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकसमेत सोमबार साँझसम्म मर्मत सम्पन्न भएको छ।
कुनौटामा सडक कटान मुख्य चुनौती
कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेकाले कुनौटा क्षेत्रको मर्मत चुनौतीपूर्ण बनेको छ।
सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान भएको सडकको विकल्पमा नयाँ मार्ग निर्माण गर्नुपर्ने तथा इन्धन अभावको समस्या देखिएको थियो।
राहुघाटको विद्युत्गृह अगाडि सडक खुलाउने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोग तथा सापटी लिएर इन्धन व्यवस्थापन गरिएपछि मर्मत कार्य सहज भएको हो।
सडक योजनाका प्रमुख शर्माका अनुसार कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि नेपाली सेना र ड्रोनको सहयोगमा पहिरो कटाएर इन्धन पुर्याइएको थियो। ड्रोनको छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गरिएपछि कुनौटाभन्दा माथिको सडक मर्मतमा सहज भएको उनले बताए।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र रातोपानीमा नयाँ सडकको मार्ग खोल्ने तथा महभिर र भिरकाटे खण्डमा समेत मर्मतको काम भइरहेको छ। अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएको क्षेत्रमा नयाँ मार्ग खोलिएको छ।
पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ।
सडक विभाग र निर्माण व्यवसायीका १५ ओटा डोजर, १२ ओटा टिपर र १५ ओटा लोडरलगायतका उपकरण तथा जनशक्ति परिचालन गरी सडक निर्माणलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।
उनका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभाग र निर्माण कम्पनीले विभिन्न स्थानमा समानान्तर रूपमा काम गरिरहेका छन्। यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको सुवेदीले बताए। कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ।
मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ। दशैं-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समयसमेत नजिकिँदै गएको छ।
पर्यटकीय याम सुरु भएकाले पनि बेनी-जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ।
झोलुङ्गे पुलमा क्षति, विद्यार्थी विद्यालय जानबाट वञ्चित
यसैबीच असोज ९, १० र ११ गते परेको अविरल वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका-४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका-१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।
पुलमा क्षति पुगेपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको छ। पुल अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर विद्यार्थीमा परेको छ।
करूवाटार र बटौलिटार क्षेत्रबाट नदीपारि रहेको बौदीकाली-१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५ देखि २० जना विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्।
दैनिक विद्यालय आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका विद्यार्थी पुल बन्द भएपछि घरमै बस्न बाध्य भएका छन्। नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका-४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताए।
पुल नहुँदा विद्यार्थी मात्र नभई स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीसमेत प्रभावित भएको उनले बताए।
स्थानीयले पुलमा क्षति पुगेपछि बालबालिकाको पढाइ प्रभावित हुनुका साथै दैनिक जनजीवनसमेत कष्टकर बनेको भन्दै यथाशीघ्र पुल मर्मत गर्न वा तत्काल वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन्।

