Nepal Purbadhar

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन: जमिन सम्याउने काम तीव्र, तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य


चितवन। राष्ट्रिय प्राथमिकताप्राप्त अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका-१ लोथरमा जमिन सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र रूपमा अघि बढेको छ।

परियोजनाका लागि जग्गा व्यवस्थापनसँगै वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिए।

परियोजनाअन्तर्गत लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको नयाँ इन्धन भण्डारण केन्द्र निर्माण हुनेछ।

भारतको मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोमा रहेको पम्प गृहबाट लोथरसम्म पेट्रोलियम पदार्थ पठाउने व्यवस्था गरिनेछ। अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्च व्यासको पाइपलाइन बिछ्याइनेछ।

नेपाल आयल निगमले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत आयात गर्दै आएको छ। यही पाइपलाइनलाई अमलेखगन्जदेखि लोथरसम्म विस्तार गर्न लागिएको हो।

पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन

पाइपलाइनको नक्साङ्कन सम्पन्न भइसकेको आयोजना प्रमुख यादवले बताए। पूर्वपश्चिम राजमार्गको समानान्तर रूपमा पाइपलाइन बिछ्याउने गरी योजना तयार गरिएको छ। यसका लागि सडक विभागसँग आवश्यक समन्वय भइसकेको निगमले जनाएको छ।

हेटौँडा बजार क्षेत्रमा भने पाइपलाइन नजाने गरी घुमाउरो मार्गबाट बिछ्याउने योजना बनाइएको छ। अमलेखगन्जबाट आउने पाइपलाइन रातोमाटेभन्दा अगाडि नदीको बीच भाग हुँदै जाने र हेटौँडा बजार पार गरेपछि राप्ती पुलनजिकै बाहिर निस्कनेछ।

परियोजना निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको यादवले बताए। उनका अनुसार अबको तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटरका दरले लोथरसम्म इन्धन आपूर्ति गर्न सकिनेछ। करिब ६२ किलोमिटर लामो पाइपलाइनमा नियमित रूपमा ३२ सय किलोलिटर इन्धन मौज्दात रहनेछ।

जमिन सम्याउने र पर्खाल निर्माणको काम तीव्र

निगमका उपप्रबन्धक ऋषिराम शर्माका अनुसार परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने तथा मुख्य निर्माण कार्य सुरु गर्नुअघिका तयारीका काम तीव्र रूपमा भइरहेका छन्।

जग्गा तयार भएपछि भण्डारणसहितका संरचना निर्माणको जिम्मा इन्डियन आयल कर्पोरेसनलाई दिइनेछ।

जमिन सम्याउने र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ। कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीका अनुसार जग्गा पुर्न आवश्यक माटो तथा अन्य सामग्री सङ्कलन गरी निर्माणस्थलमा ल्याउने काम भइरहेको छ।

कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो। बाहिरी पर्खाल निर्माण र माटो भर्ने कामका लागि करिब ७९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। ठेक्का अवधि एक वर्ष भए पनि आठदेखि नौ महिनाभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्र पारिएको कम्पनीले जनाएको छ।

९१ हजार ९०० किलोलिटर इन्धन भण्डारण हुने

परियोजना निर्माण भएपछि वार्षिक दुई करोड टनसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्न सकिनेछ। लोथरमा १६० वर्गमिटर क्षेत्रफलमा पाइपलाइन केन्द्र निर्माण हुनेछ।

त्यहाँ पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन ओटा ठाडा ट्याङ्की निर्माण गरिनेछन्। डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन ओटा र मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई ओटा ट्याङ्की निर्माण हुनेछन्।

यस्तै, हवाई इन्धन भण्डारणका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन ओटा ट्याङ्की निर्माण गरिनेछ। लोथरमा निर्माण हुने नयाँ भण्डारण केन्द्रमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ। यसबाहेक दुई ओटा मिश्रित इन्धन ट्याङ्की पनि निर्माण गरिनेछ।

हवाई इन्धन पनि पाइपलाइनबाटै ल्याइने

लोथरमा हवाई इन्धन भण्डारणका लागि ट्याङ्की निर्माण भएपछि हवाई इन्धनसमेत पाइपलाइनमार्फत ल्याउन सकिनेछ।

हाल निगमले भारतको बरौनीबाट ट्याङ्करमार्फत हवाई इन्धन ढुवानी गर्दै आएको छ। करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याउनुपर्ने अवस्था रहेकामा लोथरसम्म पाइपलाइन विस्तार भएपछि प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च बचत हुने निगमको अनुमान छ।

पाइपलाइनमार्फत हवाई इन्धन ल्याउन थालेपछि वार्षिक करिब दुई अर्ब रुपैयाँ ढुवानी खर्च बचत हुने अनुमान गरिएको छ।

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने तथा चोरी र मिसावटको सम्भावना अन्त्य हुने निगमको भनाइ छ। पाइपलाइनसहित भण्डारण केन्द्र निर्माणको कुल लागत १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।

भारतसँग भएको समझदारीअनुसार अघि बढ्यो परियोजना

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठमा गरेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण केन्द्रसहितको सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्ने समझदारी भएको थियो।

उक्त समझदारीअनुसार दुवै देशका सरकारी स्वामित्वका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य अघि बढाउने उल्लेख थियो। सोहीअनुसार २०८१ असोज १७ गते इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सम्झौता भएको थियो।

सम्झौताअनुसार निर्माण कार्य सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। इन्डियन आयल कर्पोरेसनले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार गरिसकेको छ।

अमलेखगन्जसम्मको पाइपलाइनले ७० प्रतिशत माग धान्दै

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा छ। २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा यसको उद्घाटन गरेका थिए।

त्यसपछि पाइपलाइनमार्फत डिजेल आयात हुँदै आएकोमा २०८१ असोज २४ गतेदेखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेलसमेत आयात गर्न थालिएको हो।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ। त्यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर पर्छ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको उक्त पाइपलाइनबाट आयात हुने पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग धान्दै आएको छ।

अमलेखगन्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज र जनकपुरस्थित इन्धन भण्डारण केन्द्रमा पेट्रोलियम पदार्थ आपूर्ति हुँदै आएको छ।

अमलेखगन्ज-लोथर परियोजना निर्माण सम्पन्न भएपछि नेपालका पश्चिमी तथा उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ।


Read Previous

बागलुङमा बाढीपहिरोले सडकमा ठूलो क्षति, पुनर्निर्माणमा एक अर्बभन्दा बढी लाग्ने अनुमान

Read Next

बेनी-जोमसोम-कोरला सडक मर्मत तीव्र, तनहुँमा झोलुङ्गे पुलमा क्षति हुँदा विद्यार्थी प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar