
बागलुङ। बाढीपहिरोका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण जिल्लामा १३ जनाको मृत्यु भएको छ भने मुख्य सडकमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्ग र पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति पुगेको हो। क्षतिग्रस्त सडकलाई दीर्घकालीन रूपमा पुनर्निर्माण गर्न एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ। प्रदेश सरकारअन्तर्गतको गलकोट-हरिचौर-ताराखोला सडकखण्डमा पनि बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र बागलुङ-बेनी सडकसहितका राजमार्गमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडकको संरचना बगाएर बगरमा परिणत भएको छ। घोडाबाधेदेखि हटियासम्मको सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत क्षेत्रमा पनि सडकमा क्षति पुगेको छ। बागलुङ बजार हुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खसेपछि आवागमन प्रभावित भएको छ।
यस्तै, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेश सरकारअन्तर्गत निर्माण भइरहेका क्षेत्रीय सडकमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर-ताराखोला सडकमा भएको छ। करिब आठ किलोमिटर लामो उक्त सडकको एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।
त्यसैगरी शालग्राम सङ्ग्रहालय-मालिका-पञ्चकोट सडक तथा कुश्मिसेरा-राङ्खानी सडकमा पनि क्षति पुगेको छ।
थापाले सडक पूर्वाधारमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए। उनका अनुसार ठेक्काको अवधि बाँकी रहेको हरिचौर-ताराखोला सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायीलाई पत्र पठाइएको छ।

